आयोजनास्थल आइपुग्यो पानी नियन्त्रण गर्ने एमएसओभी

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले एकपछि अर्को सफलता हासिल गर्दै गएको छ । एक महिनाअघि हेडरेस सुरुङको ब्रेक थ्रु भएको आयोजनामा अहिले विद्युत्गृहभित्र प्रयोग हुने सामान ढुवानी भई सफलता हासिल गरेको हो । आयोजनाको सबैभन्दा चुनौतीको रूपमा विद्युत् उत्पादनका लागि प्रयोग हुने ठूला सामान ढुवानीमा थियो । तर आयोजनाले चुनौतीको रूपमा लिएको सबैभन्दा ठूलो सामान बोकेका तान्ने गाडीसहितको १३० टन एमएसओभी आयोजनाको विद्युत्गृह छिरेको छ । आयोजनाको विद्युत्गृहभित्रका युनिटमा पानी नियन्त्रण गर्ने सामान नै एमएसओभी हो । एमएसओभीको एउटा ढिकाको भार नै ६६ टन छ ।
भार र उचाइका हिसाबले यो नै आयोजनाको सबैभन्दा ठूलो सामान हो । यो सामान २ साताअघि आयोजनास्थल गोंगर आइपुगेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । यसको सफल ढुवानीले हामीलाई अत्यन्तै उत्साहित बनाएको उनले बताए ।
“सामान ढुवानीमा यसलाई सबैभन्दा चुनौतीको रूपमा लिएका थियौं,” उनले भने, “बाटोले नधान्ने र ठाउँठाउँका पुल र आकासे पुलले नधान्ने हो कि भन्ने चिन्ता थियो, यसमा हामी सफल भयौं ।” सामानको उचाइका कारण काठमाडौं कोटेश्वरदेखि भक्तपुरसम्मका आकासे पुल र साँगाको गेटमा समस्या देखिएको थियो । साँगाको गेट भत्काउने वा सडक खन्ने तयारी भए तापनि स्थानीयको अवरोधले काम हुन सकेको थिएन । तर त्यसलाई आयोजनाले वैकल्पिक उपाय सबैभन्दा होचो टेलरमा भारतबाट झिकाएर ढुवानी ग¥यो ।
सिंगटी, जामुने र गोंगरको पुलको माथिल्लो भाग पनि नखोली सामान आयोजनास्थल पुगेको हो । एमएसओभी जडानका लागि त्यसको तल र माथि राख्ने अर्को सामान चाहिन्छ । त्यसमध्ये एउटा आयोजनास्थल पुगिसकेको छ भने अर्को मुडेमा पुगेको छ । लट २ अन्तर्गत हाइड्रोमेकानिकलको ठेकेदारले पाइप जडान गरेपछि एमएसओभी जडान हुने प्रवक्ता न्यौपानेले बताए ।
एमएसओभी आयोजनाको लट ३ को इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल अन्तर्गत पर्छ । लट २ को इलेक्ट्रोमेकानिकलमा अस्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबीले गरेको छ । विद्युत्गृहभित्र जडानको काम जारी छ ।
ठूला सामान ढुवानी अन्तिम चरणमा
लट ३ अन्तर्गतको विद्युत्गृहभित्रका ठूला सामान ढुवानी अन्तिम चरणमा पुगेको छ । यसको अन्तिम ५ वटा गाडी वीरगन्जबाट मुडेसम्म आइपुगेको छ । ती गाडीहरू एक साताभित्र आयोजनास्थल आइपुग्ने प्रवक्ता डा. न्यौपानेले बताए । अब विद्युत्गृहभित्रका अन्य सामान १२ चक्के गाडीबाटै ढुवानी हुन सक्ने उनले बताए ।
आयोजनाको लट ३ अन्तर्गत आउँदो असारसम्म एउटा युनिट सञ्चालनमा ल्याउने तयारी छ । तर लट २ को हाइड्रोमेकानिकलको ठेकेदारले पाइप ढुवानी र जडानमा विलम्ब हुँदा आयोजनाको लक्ष्य भेटन चुनौती छ । आयोजनाको हालसम्म ९४ प्रतिशत प्रगति भएको छ ।
आयोजनाको ४ लटमा काम भइरहेको छ । सिभिल र प्रसारणलाइनको काम तीव्र गतिमा भए तापनि लट २ को सामान ढुवानीमा भएको ढिलाइले आयोजनाको काम प्रभावित भएको छ ।
दिलबहादुर केसी