Logo

सय दिनमा धनगढी उपमहानगरका ४२ उपलब्धि

धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले आफ्नो कार्यकाल सुरु भएको एक सय दिनको कार्यगत प्रगति सार्वजनिक गरेका छन् ।
उपमहानगरपालिकाले मंगलबार निर्वाचित जनप्रतिनिधिको कार्यकालको एक सय दिनको कार्यक्रम आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेको हो । विवरणमा एक सय दिनमा ४२ वटा उल्लेखनीय कार्य गरेको जनाइएको छ । नगरप्रमुख गोपाल हमालले एक सय दिनको प्रगति विवरण प्रस्तुत गर्दै स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर धनगढी उपमहानगरपालिकाले काम गरिरहेको बताए ।
उनले धनगढीका नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउनका लागि नियमित घुम्ती स्वास्थ्य क्लिनिक र सञ्चालन गरिरहेको बताए । सो शिविरमा थप विशेषज्ञ सेवा विस्तार गर्न विभिन्न निकाय, निजी क्षेत्रका अस्पताल, विशेषज्ञ सेवा दिने सरकारीसँंग छलफल र समन्वय भइरहेको बताए । उनले बेलीको सहरी स्वास्थ्य केन्द्रमा क्यान्सर अस्पतालको रूपमा विकास गर्न भरतपुर क्यान्सर अस्पतालसँग छलफल सुरु भएको बताए । उनले ग्रामीण क्षेत्रमा सेवा दिनका लागि प्रत्येक वडामा एउटा एम्बुलेन्स सेवा दिने व्यवस्थाका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए ।
उपमहानगरपालिकाले एकजना फिजिसियन र एकजना स्त्री रोग विशेषज्ञसहितको नियमित घुम्ती स्वास्थ्य क्लिनिक १९ वटै वडामा क्यालेण्डर बनाएर सञ्चालन गरिरहेको छ । सो शिविरबाट ६ हजार ४ सय ७५ जनाले सेवा प्राप्त गरेको उपमहानगरका स्वास्थ्य शाखाका योगेश जोशीले बताए । उनले १ सय ५ जनाको जटिल रोग निदान गरिएको बताए । घुम्ती स्वास्थ्य क्लिनिकका लागि नगरप्रमुख चढ्ने गाडीलाई प्रयोग गरिएको छ । नगरप्रमुख हमालले निजी गाडी चढ्ने गरेका छन् ।
यसैगरी, धनगढी उपमहानगरपालिकालाई सुन्दर र सफा सहर बनाउनका लागि फोहोर मैला व्यवस्थापनका लागि पनि कार्य भइरहेको नगरप्रमुख हमालले बताए । उनले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि डस्टबिन र कन्टेनर तयार भइसकेको जनाउँदै केही दिनमा ठाउँठाउँमा राखिने बताए । फोहोर व्यवस्थापनका लागि पहिलो पटक धनगढी उपमहानगरपालिकाले बजेटको व्यवस्थासमेत गरेको नगरप्रमुख हमालले बताए ।
यसैगरी, सडक र नाली व्यवस्थापनका लागि समेत नगरपालिकाले बजेट व्यवस्था गरी नगरभित्रको डुबानको समस्या समाधान गरेको नगरप्रमुख हमालले बताए । उनले अब हरेक वर्ष फागुनदेखि नै धनगढीका सडकको नाली र कुलो सफा गरी डुबान हुन नदिइने बताए । उनले उपमहानगरपालिकाले त्यसका लागि दुईवटा जेसिबी खरिद गर्न टेण्डर आह्वान गरिसकेको बताए ।
नगरप्रमुख हमालले धनगढीको कैलालीपुलदेखि क्याम्पस रोडसम्मको सडकलाई विस्तार गर्ने प्रक्रिया अगाडि बढाएको बताए । उनले पार्किङका लागि जमिन प्राप्न नभएपछि मेनरोडलाई चार लेनमा विस्तार गरी एक लेन पार्किङका लागि छुट्याउने निर्णय भएको बताए । नगरप्रमुख हमालले कार्यकालको क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत बनिरहेका रोडको निर्माणमा भइरहेको अवरोध हटाउने र बजारको मेनरोडको खाल्डाखुल्डी पुर्ने निर्णय गरेका थिए । उनले सार्वजनिक शौचालय निर्माणका लागि पनि उपमहानगरपालिकाले पहल गरिरहेको बताए ।
यसैगरी, धनगढी उपमहानगरपालिकामा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य गरिएको छ । सो कार्यलाई पनि उपमहानगरले उल्लेखनीय कार्यको सूचीमा राखिएको छ । यसअघिका जनप्रतिनिधिले कार्यकालको सुरुमै सो अतिक्रमण हटाउने निर्णय गरे पनि कार्यान्वयन गर्न सकेका थिएनन् । हमालले नगरप्रमुखको कार्यभार सम्हालेपछि सुरुमै सोसम्बन्धी निर्णय गरी कार्यान्वयन गरेका थिए ।
नगरप्रमुख हमालले केही दिनमै धनगढीमा सूर्तिजन्य पदार्थ र प्लास्टिक ब्याण्ड गरिने तयारी भइरहेको बताए । उनले प्लास्टिकको सट्टा विकल्प के दिने भन्ने विषयमा तयारी भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्