आयो मेयर साबको डोजर

‘कस्तो दिन आयो अवैध संरचना भत्काउनुपर्ने,
न रुनु न हाँस्नु मनमा पीडा दबाएर राख्नुपर्ने,
नक्सा पासै नगरी अवैध संरचनामा मोज गर
त्यही अवैध संरचना भत्काउन आइपुग्यो मेयर साबको डोजर ।’
यो कविताको हरफ कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ । तर, यसले वास्तविक जीवनमा नै मेल खाइसकेको अवस्था छ । पछिल्लो केही समयदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह काठमाडौं महानगरभित्र बनेका अवैध संरचना धमाधम भत्काउनका लागि आफंै पनि भौतिक रूपमा उपस्थित भएर सम्भावित भएका ठाउँहरूमा डोजरै लिएर भए पनि ती अवैध रूपमा बनेका संरचना भत्काउन अघि सरेका छन् । धेरै भत्किसकेका पनि छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट बालेन्द्र शाह निर्वाचित भएपछि उहाँको पहिलो अठोट प्रत्येक कार्यपालिकाको बैठक लाइभ गर्नेदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको विसर्जन गर्ने र काठमाडौंलाई स्वच्छ/सफा बनाउने, तत्काल काठमाडौं महानगरभित्र देखा परेका ठाउँमा खाल्डाखाल्डी पुर्ने, पूर्वाधार एम्बुलेन्सको विस्तार गर्ने तथा ठूला–ठूला होटलमा नि:शुल्क सार्वजनिक शौचालयको व्यवस्थापछि काठमाडौं उपत्यकामा सबैभन्दा अस्तव्यस्त रूपमा रहेको सवारी पार्किङमा मेयर बालेन्द्रको आँखा गयो । यसको समाधानका लागि अहिले अनधिकृत रूपमा बनेका संरचना र पार्किङका लागि भनेर बनाएको घरको संरचनामा अधिकांश महल/कम्प्लेक्सहरूमा बेसमेन्ट भनी नक्सा पास भएको तर सो बेसमेन्ट भएको अधिकांश ठाउँमा व्यापारिक प्रयोजनका लागि भनेर धमाधम घर मालिकहरूले भाडा लगाएर पसल सञ्चालन गरिरहेको, कतै रेस्टुराँ सञ्चालन भएकाले महानगरभित्र पार्किङको समस्या उस्तै थियो । सवारी साधन पार्किङ गर्ने महलहरूको बेसमेन्टमा सर्वसाधारणले सडकमा पार्किङ गर्दा सधैं सो क्षेत्र जाम हुन्थ्यो । महानगरले ‘गोरखापत्र’ राष्ट्रिय दैनिक मा ३५ दिने सूचना निकालेरै भए पनि पार्किङका लागि खुला छाडिएका महल तथा घरको संरचना तत्काल खाली गर्न आह्वान पनि गरेको थियो । तर, सूचनाको आधारलाई लत्याउँदै धेरै घर धनी तथा व्यवसायीहरूले अटेरी गरेका थिए । त्यसको फलस्वरूप काठमाडौं महानगरका मेयर बालेन्द्र शाह दलबल, उच्च प्रहरी अनि नगर प्रहरीको टोलीसहित डोजर लिएर एक्सनका साथ भौतिक रूपमा अवैध संरचाना हटाउन खटेका थिए ।
नयाँ बानेश्वरको बानेश्वर प्लाजाबाट अवैध संरचना भत्काउन सुरु गरेका मेयरले काठमाडौं मल, आरबी कम्प्लेक्स, बुद्धनगरको अल्फाबिटालगायतका ठाउँहरूमा अवैध रूपमा बनेका संरचनाहरू भत्काएका छन् भने बेसमेन्टभित्र रहेका धेरै व्यापारिक प्रयोजन गरेर बसिरहेका अधिकांश व्यापारीलाई तत्काल खाली गर्न पनि आग्रह गरेका छन् । र, यो क्रम अहिले पनि जारी छ । मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा सबैतिरबाट वाहवाही पनि पाएका छन् भने कसैले ‘आयो आयो बालेनको डोजर’ पनि भनेका छन् । केही राजनीतिक दलका नेताहरूले भने मेयरसाबको चर्को विरोध पनि गरिरहेका छन् भने कसैले सामाजिक सञ्जालमा हिन्दी फिल्म ‘नायक’को संज्ञा दिएर मेयर साबलाई हौसला पनि प्रदान गरेका छन् । त्यति मात्र होइन, केही दिनअघि मात्रै कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र शाहले अब प्रत्येक वडामा फुड इन्स्पेक्टर राख्नेदेखि अनुभवी स्वास्थ्यकर्मी र इन्जिनियर पनि राख्ने बताएका छन् । हामी उत्साही छौं मेयर साब ! तपाईंको सोच, तपाईंको विचार अनि तपाईंले चाल्नुभएको जुन गति छ, नेपाली जनताले ३० वर्षपछि पनि मेयर साब होस् त बालेन्द्र शाहजस्तो भनेर चर्चा गरिरहनेछन् ।