Logo

‘नगरकोटलाई जलाधार क्षेत्र घोषणा गर्नु पर्‍यो’

नेपाल सरकार खानेपानी मन्त्रालयको आयोजनामा काठमाडौं उपत्यकाभित्रका सातवटा महानगर तथा नगर प्रमुखबीच ‘उपत्यकामा खानेपानी व्यवस्थापन एवं संस्थागत सबलीकरण’ विषयक छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी उपत्यकामा पठाउन ढिलाइ गर्न नहुने बताउँदै भक्तपुरको मुख्य पानीको स्रोत नगरकोटलाई सरकारले जलाधार क्षेत्र घोषणा गराई त्यस क्षेत्रको सुरक्षा र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड दिए । उनले भक्तपुरका खानेपानीका पाइपलाइन निकै पुराना भइसकेको अवगत गराउँदै ती पाइपहरू फेर्नुको विकल्प नरहेको, ढल तथा खानेपानीको पाइपसँगै राख्नु नहुने र मेलम्चीको पानी नआउँदासम्मका लागि बोडेबाट आउने पानीको मात्रा बढाउनुपर्ने बताए ।
महादेव पोखरीमा ड्याम बनाउने कुरा छिटो छरितो ढंगले अगाडि बढाउनुपर्ने बताउँदै प्रमुख प्रजापतिले सिस्नेरी खानेपानी आयोजनालाई विकल्पको रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसालले खानेपानीको स्रोत अभावलाई मन्त्रालयले वैकल्पिक उपाय अपनाएर समस्या समाधानतर्फ जोड दिनुपर्ने बताउँदै केयूकेयलले उपत्यकाको खानेपानी व्यवस्थापन र आपूर्तिमा क्रियाशीलता देखाउनुपर्ने बताए ।
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्दै उपत्यकामा नयाँ बस्तीको विकाससँगै खानेपानीको समस्याले विकराल रूप लिँदै गएको बताए । उनले वर्षामा ठूलो पानी पर्दा मेलम्ची आयोजनामा क्षति पुर्‍याउने सम्भावना भएको हुँदा मेलम्चीको पानी पथान्तरणमा रोक लगाएको बताउँदै दसैं–तिहार पछाडि पुन: मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने तयारीमा मन्त्रालय अगाडि बढिरहेको बताए ।
कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाकातर्फबाट उपस्थित प्रतिनिधिले ललितपुरका धेरै क्षेत्रमा मेलम्चीको पाइप बिछ्याउन अझ पनि बाँकी रहेको हुँदा उक्त स्थानमा पाइप बिछ्याउनुपर्ने, मेलम्चीबाहेक अन्य खानेपानी स्रोतको पहिचान र संरक्षणमा जोड दिनुपर्नेमा उनीहरूको भनाइ थियो । इन्जिनियर महेश भट्टराईले ‘उपत्यकामा खानेपानी व्यवस्थापन एवं संस्थागत सबलीकरण’ गर्ने विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्