चालू पुँजी कर्जासम्बन्धी प्रावधानले उद्योग व्यवसाय धरापमा : चेम्बर

चालू पुँजी कर्जासम्बन्धी राष्ट्र बैंकको प्रावधानले उद्योगी–व्यवसायीलाई हतोत्साही बनाएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग–व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै गम्भीर असर गर्न सक्ने चेम्बरको ठहर छ ।
चेम्बरले सोमबार विज्ञप्ति जारी गर्दै चालू पुँजी कर्जाका सम्बन्धमा पर्ने असरबारे विभिन्न ११ बुँदामा राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
‘चालू पुँजी कर्जाका सम्बन्धमा उल्लेखित प्रावधानले आवश्यकताअनुसारको कर्जा माग गर्न असहज हुने, उद्योग–व्यापार घटाउने, आर्थिक गतिविधि विस्तारमा रोक लगाउने एवं रोजगारीमा असर देखिन सक्छ,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चालू पुँजी कर्जा लिएपछि ऋणीले चल्ती खाता र कर्जा खाता छुट्टाछुट्टै सञ्चालन गर्नुपर्ने व्यवस्थाप्रति पनि चेम्बरले आपत्ति जनाएको छ । चेम्बरले भनेको छ, ‘पछिल्लो प्रावधानले व्यवसायबाट भएको आम्दानी तत्काल कर्जा खातामा दाखिला गर्न नसक्ने भएकाले ब्याजको दायित्व झन् बढ्ने देखिन्छ । यसकारण एकल रुपमा कर्जा खाताको मात्रै व्यवस्था अनिवार्य गरिनुपर्छ ।’
चालू पुँजीसम्बन्धी प्रावधानले समग्र उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाबीच क्रमभंगता हुने समेत चेम्बरको ठहर छ । अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि चालू पुँजी कर्जासम्बन्धी पछिल्लो व्यवस्थाले उद्योग–व्यवसाय ठप्प हुने अवस्था रहेको चेम्बरले जनाएको छ ।
चेम्बर अफ कमर्सले चालू पुँजी कर्जासम्बन्धी अव्यवहारिक नीति तत्काल संशोधन गर्न समेत सम्बन्धित निकायसँग आग्रह गरेको छ ।