हनुमानघाट पुल उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–७ स्थित न्याताँ (हनुमानघाट)मा नवनिर्मित पुलको आइतबार उद्घाटन गरेका छन् ।
भक्तपुर नपाको विनियोजित बजेटबाट जीर्णोद्धार गरिएको खोह्र (हनुमानघाट) न्याताँ उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख प्रजापतिले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति अनुरुप भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई विकास निर्माणका काम उपभोक्ता समितिमार्पmत पारदर्शी ढंगले गुणस्तरीय काम सम्पन्न गर्दै आइरहेको बताए ।
उपभोक्ता समितिमार्फत काम गराउँदा स्थानीय स्रोत साधन तथा सीप र प्रविधिको प्रयोग हुने, सम्पदाप्रति अपनत्व कायम हुने, गुणस्तरीय निर्माण हुने र स्थानीय जनताले रोजगारी पाउने उनको भनाइ थियो । उनले नगरपालिकाले आन्तरिक स्रोतबाट हुने अधिकांश विकास निर्माणका कामलाई उपभोक्ता समितिमार्फत गर्दै आएको बताए । उनले इमानदारीपूर्वक जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा विकास निर्माणलगायत जनताका सरोकारका कामलाई प्राथमिकतामा राखी अगाडि बढिरहेको दाबी गरे ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नवनिर्मित पुलले हनुमानघाटको स्वरुप र सुन्दरता थपेको बताउँदै भक्तपुरमा उपभोक्ता मोडल सफल हुनुमा समितिमा कार्यरत पदाधिकारीले ठूलो भूमिका खेलेको बताइन् ।
कार्यक्रममा न्याताँ पुल जीर्णोद्धार समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले पुल निर्माणको आय–व्यय प्रस्तुत गरेका थिए । उनले पुलको लागत इस्टिमेट ४९ लाख २४ हजार रहेकोमा ४१ लाख ३३ हजारमै निर्माण सम्पन्न भएको जानकारी गराए ।