वन विनासले खेतीयोग्य जमिन घट्दै «

वन विनासले खेतीयोग्य जमिन घट्दै

चुरे क्षेत्रमा भइरहेको वनविनासका कारण भूमिगत जलाधारमा असर पर्न गई भूक्षय र बगर बढ्दै गएपछि त्रियुगा नदी आसपासको क्षेत्रमा खेतीयोग्य जमिनको विनास हुँदै गएको छ । जमिनको विनाससँगै सिँचाइ र खानेपानीका स्रोतमा समेत असर परेको छ ।
चुरेबाट बग्ने झन्डै डेढ दर्जन खोला÷खहरेले मार्ग परिर्वतन गर्दा खेतीयोग्य जमिनको विनास हँुदै गएको हो । खोला÷खहरेको मार्ग परिर्वतनसँगै तल्लो तटीय क्षेत्रका मानव वस्तीसमेत खतरामा पर्दै गएका छन् । परिपक्व भइनसकेको भूवनोट रहेको चुरे पहाडबाट ढुंगा, गिटी र बालुवाको दोहन हुँदा यस क्षेत्रमा वातावरणीय असर उत्पन्न भएको छ । जसका कारण मधेस, महाभारत क्षेत्र र तराईमा समेत प्रतिकूल असर परी कृषि उत्पादनमा संकट देखा पर्न थालेको किसानहरूले बताएका छन् ।
माथिबाट बगेर आएका खोला÷खहरेबाट अनियन्त्रित गिटी बालुवाको दोहनले तल्लो क्षेत्रमा गेगर थुप्रेर खोला र नदीको सतह बढ्न गई बाढीको प्रकोप बढ्दै गएको त्रियुगा नगरपालिका–११ का उद्घव काफ्लेले बताए । नदीको केही स्थानमा सतह घट्न गई सिँचाइलगायत खानेपानीमा समेत कठिनाई हँुदै गएको उनको भनाइ छ ।
“अस्थिर सतहको माटो क्षय भएकाले माटोको उर्वरता र पानी थेग्न सक्ने क्षमतामा ह्रास आएका कारण वर्षाको पानी रोक्न नसक्दा बाढी तथा सुख्खा समयमा खडेरी हुने गरेको छ,” काफ्लेले भने, “खोला÷खहरेमा पानीको सतह तलमाथि हँुदा भावर क्षेत्रका सर्वसाधारणमा खानेपानीको समस्या छ ।”

परिपक्व भइनसकेको भूवनोट रहेको चुरे पहाडबाट ढुंगा, गिटी र बालुवाको दोहन हुँदा यस क्षेत्रमा वातावरणीय असर उत्पन्न भएको छ ।

चुरे क्षेत्रको वनविनासले जैविक विविधतामा असर पुगेको छ । स्थानीय त्रियुगा माध्यमिक विद्यालयका प्रधानाध्यापक सुवास विष्टले भने, “जैविक विविधताको असरले मुख्यरूपमा चुरेमा आश्रित र चुरेसँग प्रत्यक्ष एव परोक्ष सरोकार भएका मानववस्तीमा असर परेको छ ।”
कुकाठका नाममा चुरे क्षेत्रमा पाइने जैविक जडिबुटी हर्रो बर्रो, अमलालगायतका विरुवा विनास भइरहेका छन् । साललाई मात्रै काठ र अन्य सवै कुकाठका नाममा उपभोक्ता समूहले बिक्री गर्ने गरेका कारण जैविक जडिबुटी मासिँदै गएको स्थानीय उपभोक्ता बताउँछन् ।
जैविक जडिबुटी र वनजन्य सम्पदाको संरक्षण गर्न चुरे क्षेत्रमा हरियो रुख कटानमा रोक लगाइएको सहायक वन अधिकृत जागेश्वर साहले वताए । “हरियो रुख कटान रोकिएपछि चुरे क्षेत्रमा केही सुधार भएको छ,” उनले भने, “यो प्रयासले जैविक विविधताको संरक्षणमा केही सुधार हुन थालेको छ ।”
पूर्वपश्चिम भएर फैलिएको चुरे वन शृङ्खला उदयपुर, सिरहा र सप्तरीको सिमाना पनि हो । माथिल्लो क्षेत्रको उदयपुरतर्फ संरक्षणमा लागे पनि तल्लो क्षेत्रका सिरहा र सप्तरीबाट चुरेमा आक्रमण भइरहेकाले समस्या समाधान हुन सकेको छैन । चुरे क्षेत्रमा हुने जैविक विविधताको असर सिरहा र सप्तरीमा परे पनि त्यहाँका स्थानीयले वास्ता नगरेको वन कर्मचारी बताउँछन् ।
चुरे पहाडमा शीर भएर बग्ने बलान, खाँडो, महुली जस्ता खोलाले सिरहा र सप्तरीका हजारौं हेक्टर खेतीयोग्य जमिन मरुभूमिमा परिणत गरिदिएका छन् । यति हुँदाहुँदै पनि जनचेतनाको अभावका कारण चुरेको दोहन रोकिन नसकेको सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्