जात्राले बढ्यो जुम्लामा आर्थिक गतिविधि

जुम्लामा सञ्चालित कर्णाली प्रदेशकै लामो जात्रा सम्पन्न भएको छ । कोरोनाले रोकिएको जात्रा दुई वर्षपछि सुरु भएको हो । जनै पूर्णिमाका दिन सुरु भएको जात्रा श्रीकृष्ण जन्माअष्टीको दिन लाखे काटेर जुम्लाको जात्रा सम्पन्न भएको हो । जात्राको पहिलो दिन २७ साउनमा गाईजात्रा निकालिएको थियो । दिवंगत भएका आफन्तहरुको सम्झानामा आत्मशान्तिको लागि गाईजात्रा मनाइन्छ ।
दोस्रो दिन २८ भदौमा रोपाइँ जात्रा, तेस्रो दिन बाघ भालु जात्रा र ३० साउनमा मिम बादशाह, पल्टन जात्रा तथा धामी, पञ्चेबाजालगायतका जात्रा देखाइएको छ । जुम्ली संस्कृति तथा परम्परा झल्काउने खालका विभिन्न प्रस्तुतीहरु समेत जात्रामा देखाइएको थियो ।
लिच्छविकालमा मल्ल राजा प्रताप मल्लले पुत्रशोकले भावविह्वल भएकी रानीलाई सान्त्वना दिन र सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन गाईगात्राको शुरुवात गरेको मान्यता छ । त्यसपछि पनि रानीको मन शान्त नभएपछि खुसी बनाउन रोपाइँ जात्रा, मिम बादशाह जात्रा, पल्टन जात्रालगायतका रमाइला कार्यक्रम गरेको इतिहास छ ।
सामाजिक कुरीति, राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर समेत जात्रामार्फत व्यंग्यात्मक प्रस्तुती दिने दिइएको थियो । खाले शनिवार साँझ पाँच बजे काटिएको हो ।
चलायमान बन्दै अर्थतन्त्र
कोरोना महामारीका कारण विगत २ वर्षदेखि जात्रा रोकिएको थियो । जात्रा हेर्न जाजरकोट, कालिकोट, मुगुलगायतका जिल्लाबाट समेत आउने गर्छन् । जात्राले जुम्लाको हरेक वस्तुलाई बजारीकरण गर्नसमेत सहज गर्छ । २ वर्षपछि यसपाली जुम्लामा जात्रा लागेपछि शुरुवाती दिनदेखि नै जात्रा हेर्ने आगन्तुकको उपस्थिति उल्लेखीय रहेको छ । जसले गर्दा जुम्लाको अर्थतन्त्रलाई चलायमान बनाएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्रबहादुर कार्की बताउँछन् ।
उनी भन्छन्, “दैनिक २ देखि ३ हजार बढी जात्रु सदरमुकाम आएका थिए । कृष्ण जन्माअष्टीको रात र लाखे काट्ने दिनमा झण्डै २० हजार भन्दा बढी जात्रुको सहभागिता थियो । यहाँका साना–ठूला होटल भरिभराउ छन् । फेन्सी पसलहरुको व्यापार ह्वात्तै बढेको छ । अघिपछिको भन्दा जात्राले जुम्लाको अर्थतन्त्रलाई चलायमान बनाएको छ ।”
अरु बेला भन्दा जात्रा अवधिमा कुनै पनि सामान खरिद गर्दा केही छुट र सस्तो मूल्यमा पाइने भएकाले पनि आर्थिक गतिविधि बढ्ने समितिका कोषाध्यक्ष कार्कीको भनाइ छ । सबैभन्दा बढी व्यापार फेन्सी व्यवसायीरुले गरेका छन् । गौतम फेन्सी स्टोरका सञ्चालक भीमप्रसाद गौतम कोरोनाले थलिएको व्यापार जात्राले केही राहत मिलेको बताउँछन् ।
उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले जात्रा अवधिमा खरिद बिक्री बढ्ने, आर्थिक कारोबार बढ्नुका साथै कालोबजारी पनि बढने भएकाले बजार अनुगमनमा कडाई गरिने बताए । बजार सरसफाइमा समेत जोड दिनु पर्ने उनको भनाइ छ ।