विधेयकको विरोधमा भेटेरिनरी एसोसिएसन «

विधेयकको विरोधमा भेटेरिनरी एसोसिएसन

नेपाल भेटेरिनरी एसोसिएसन १ भदौदेखि आन्दोलनमा उत्रेको छ । १ भदौमा कार्यस्थलमा कालो पट्टि बाँधेर विरोध जनाएका उनीहरूले २ भदौमा कार्यस्थलमा पेन डाउन तथा कामकाज बन्द गर्ने, ३ देखि ५ भदौसम्म अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने पनि जनाएका छन् । साथै, अनिश्चितकालीन रूपमा भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिभिटी र शिक्षा विभागअन्तगर्तका स्कुलमा अनिश्चितकालीन रूपमा अध्ययन अध्यापन बन्द गर्ने, अनिश्चितकालीन रूपमा १ दिने चल्लाबाहेकका पशुपन्छी स्वास्थ्य प्रमाणपत्र जारी नगर्ने तथा ६ भदौमा काठमाडौ केन्द्रित भेला गरी ७ भदौमा काठमाडौंमा विशेष साधारणसभा गर्ने पनि जनाएका छन् ।
देशभरका दर्तावाल पशु चिकित्सकले राखेका मागसमेत सम्बोधन गरेर प्रस्तावित पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक अगाडि बढाइयोस् भन्ने माग पटक पटक कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संघीय संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पेस गर्दै आएकोमा सरकारले नसुने पछि विरोधमा उत्रिनु परेको एसोसिएसनका अध्यक्ष डा. शितकाजी श्रेष्ठले बताए ।
मन्त्रालयमा मस्यौदा तयारीको सुरुका केही बैठकपछि अन्य बैठकमा सरोकारवालाको हुलहुज्जत, अमर्यादित प्रस्तुति हुन थालेपछि एसोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएका बैठकमा केही विषयमा लिखित असहमतिसमेत जाहेर गरेको उनले बताए । ती असहमतिका विषय कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पठाइने भनिएको थियो । तर कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले समेत देशको एउटा विद्धत र प्राज्ञिक समूहको न्यूनतम जायज मागलाई बेवास्ता गरी २२ साउनमा प्रतिनिधिसभामा विधेयक पेस गरियो, उनले गुनासो गरे ।
समितिमा हामीले पटकपटक हाम्रा कुर्रा राख्नका लागि समय माग गर्‍यौं तर समितिले समय उपलब्धसमेत गराएन, उनले भने, जनताबाट निर्वाचित माननीयहरुले हाम्रा माग, अन्तराष्ट्रिय अभ्यास, नेपाल पक्षधर सम्झौता आदिलाई समेत अध्ययन गरेर यो विधेयकमा समितिले गरेका कमजोरीलाई प्रतिनिधिसभाबाट सुधार हुने अपेक्षा गरेका थियौं । तर ३१ साउन २०७९ मा प्रतिनिधिसभामा माननीयहरुले राखेका सुझावहरुलाई समेत बेवास्ता गरी यो विधेयक पारित गरियो ।
यसरी पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक बीच सामान्य भिन्नतासमेत नदेखिने गरी विवादित विषय सम्बोधन नगरी, द्वैध अर्थ लाग्ने गोलमटोल शब्द राखी विधेयक पारित गरिएको प्रति हाम्रो विरोध हो, उनले भने ।
विदेशमा रहेका दक्ष जनशतिm स्वदेश भित्र्याउने नीति र वातावरण विकास गर्नुपर्नेमा दिनानुदिन वैज्ञानिक जनशतिm पलायन हुने अवस्था सिर्जना गरिएको भन्दै उनले यस विधेयकमा भएका कमजोरीलाई सम्मानित राष्ट्रिय सभाबाट सच्याई हाम्रा जायज मागहरु सम्बोधन गर्न माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्