समाचारको स्रोत र पत्रकारको कथा «

समाचारको स्रोत र पत्रकारको कथा

गत हप्तादेखि संवैधानिक आयोगमा अघिल्लो सरकारको समयमा नियुक्त भएका पदाधिकारीहरू ५२ जनाको नियुक्ति प्रक्रिया र नियुक्त गर्न जारी अध्यादेश दुवै कार्य गैरकानुनी र गैरसंवैधानिक भयो भन्दै सर्वोच्च अदालतमा विभिन्न कानुन व्यवसायीहरूबाट दायर भएको रिट निवेदनउपर विभिन्न चरणका संवैधानिक इजलासहरू बस्ने, सुनुवाइ हुने, आदेश हुने हुँदै आएकोमा साउन ११ गतेको पेशीलाई प्रभावित पार्ने किसिमले साउन ८ गते एक राष्ट्रिय दैनिक पत्रिकाको प्रमुख समाचारमा धेरै व्यक्तिको एउटै नाम मिल्ने, एउटै मिल्दो व्यवसाय, नाम र पेसालाई नै समाचारको स्रोतजस्तो बनाएर एक समाचार प्रकाशन भयो । उक्त समाचारलाई नै विषयवस्तु बनाएर अर्को राष्ट्रिय दैनिकमा साउन २७ मा सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीको लेख पनि प्रकाशित भयो । तर यो मात्र होइन, अरू विभिन्न व्यक्तिहरूको पनि लेख प्रकाशित भयो ।
तर, अहिले आएर साउन ३० गते सोमबार उही राष्ट्रिय दैनिक पत्रिकाले साउन ८ गते उक्त राष्ट्रिय दैनिकमा प्रकाशित ‘मुद्दा अदालतमा मोलतोल बजारमा’ शीर्षक समाचारमा संवैधानिक परिषद् हुनुपर्नेमा अन्यथा भएको र पूर्व हुनुपर्नेमा छुटेको भनेर सच्याइएको भनेर अर्थात् वर्तमान बहालवालासँग नभएर पूर्वपदाधिकारीसँग कुरा भएको बुझिने गरी समाचार सच्याइएको पाइयो । यसले के देखाउँछ र के बुझाउँछ भने समाचारमा इंगित गरिएको व्यक्ति पनि उही होइनन् र न्याय परिषद्को सदस्यसँग पनि कुराकानी भएको भन्ने पनि होइन अर्थात् यो सबै समाचार कसैको उद्देश्य परिपूर्ति गर्नका लागि अर्थात् कसैलाई लाभ र कसैलाई हानि पुर्‍याउनका निम्ति प्रकाशित गरिएको समाचार हो । त्यसैले समग्रमा गत हप्तादेखि हालसम्म यस विषयमा भएका चर्चा र प्रकाशनमा आएका समाचार सबै हेर्दा के बुझ्न सकिन्छ भने राष्ट्रिय दैनिक पत्रिकाहरूले यसरी हल्काफुल्का कथा लेखेर समाजलाई नै अन्यथा लाग्ने र काउकुती लाग्ने किसिमको काल्पनिक र मनोगत तथ्य आफैं सिर्जना गर्ने र आफैं प्रकाशन गर्ने प्रचलनले पत्रकारिताको स्रोत तथा विश्वसनीयतामा पाठकले शंका गर्ने प्रशस्त ठाउँ छ ।
पत्रिकामा आएका समाचार सत्यतथ्य हुन् वा कपोलकल्पित कथा हुन्, सामान्य पाठकलाई थाहा हुँदैन तर विद्वान्हरू पनि संशयमा पर्नु भनेको लोकतन्त्र तथा स्वतन्त्र पत्रकारिताका लागि दु:खद हो । त्यसमा पनि एउटा व्यक्तित्व बनाइसकेको व्यक्तिले लेख लेख्दा सोचविचार गर्नुपर्ने हो । कुनै पनि पत्रपत्रिकामा आएका समाचारलाई उद्धृत गर्दा त्यसको सत्यतथ्यमाथि विचार नगरी लेख लेख्दा आफ्नै विश्वसनीयतामा शंका उत्पन्न हुन जानेतर्फ लेखकहरू पनि सजग हुनुपर्छ । सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार हुन र जिम्मेवार तरिकाले प्रस्तुत हुने प्रयास गर्दा मात्रै पत्रकारिता तथा विद्वान्माथि समाजको विश्वास कायम रहन्छ । अन्यथा समाज र मुलुकलाई सही दिशामा हिँड्न प्रेरित गर्ने पत्रकार, लेखक नै दिग्भ्रमत भए भने अन्य सबै व्यक्ति वा व्यवसायी सफल हुन सक्दैनन् भन्ने बुझ्नु जरुरी छ ।
—केशवकुमार श्रेष्ठ,
पर्यटन व्यवसायी

प्रतिक्रिया दिनुहोस्