Logo

भारतीय विदेशमन्त्री नेपाल भ्रमणः क्लिंकर आयातको समस्या समाधान खोज्न आग्रह

वीरगन्ज-सिमेण्ट उद्योगको मूख्य कच्चा पदार्थ क्लिंकर आयातमा देखिएको समस्याका कारण नेपाली सिमेण्ट उद्योगहरुले भोग्नुपरेको समस्यालाई उच्च प्राथामिकतामा राखेर कुटनीतिक पहल गर्न नेपाल सरकारलाई सिमेण्ट उद्योगीहरुले माग गरेका छन् ।
भारतको रक्सोल स्थित रेलवे यार्डमा वातावरण प्रदुषण भएको भन्दै क्लिंकर आयातामा रोक लगाएपछि कच्चा पदार्थको अभावमा उत्पादन नै बन्द हुने अवस्था भएको भन्दै सिमेण्ट उद्योगीहरुले यसको समस्या समाधानका लागि बिहिबार हुने भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणमा उच्च प्राथामिकतामा राखेर नेपाल सरकारले कुटनीतिक पहल गर्न माग गरेका हुन् । रक्सोलको रेलवेबाट क्लिंकर आयात गर्न नपाउने भन्दै रेलवेले बुकिङ्ग नै बन्द गरेपछि अहिले सिमेण्ट उद्योगहरुले भारतको नारायणपुरबाट मुज्जफरपुर हुदै भारतीय ट्रकमा क्लिंकर ढुवानी गरिरहेका छन् ।
ट्रकबाट ढुवानी गर्दा प्रति टन २,५०० रुपैंया महंगो पर्न गएकोले सिमेण्ट उद्योगहरुको उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको बारा पर्सा सिमेण्ट उत्पादक संघ तथा उद्योग वाणिज्य महासंघको २ नम्बर प्रदेशका उपाध्यक्ष अशोक वैदले दुखेसो गरे । उनले भने, “भारतीय विदेशमन्त्री नेपाल आएको बेला नेपालमा पछिल्लो समयमा देखिएको क्लिंकर आयातको समस्या तत्काल सरकारले कुटनीतिक तहबाट पहल गर्नुपर्छ । आयातका लागि अर्को व्यावस्था नभए सम्म तत्काल वैकल्पिक व्यावस्था गर्नुपर्छ ।”
रक्सोल रेलवेबाट क्लिंकर आयात बन्द भएपछि भारतको रक्सोल रेलवे साईडिङ्ग र नेपालतर्फका हजारौं मजदुरहरु बेरोजगार भएको र राजस्व संकलनमा पनि दैनिक १० करोड बराबरको घाटा भईरहेको महासंघका २ नम्बर प्रदेशका उपाध्यक्ष वैदको भनाई छ । समस्या समाधानका लागि वाणिज्य मन्त्री, सचिव लगायतका उच्चस्तरीय नेपाली अधिकारीहरुसँग भेट गरेर पटक पटक आग्रह गरेको र पहल जारी रहेपनि सोचे जस्तो परिणाम नआएको वैदले बताए ।
वैद भन्छन्, “कच्चा पदार्थ क्लिंकर आयातमा भएको अवरोधका कारण नेपाली सिमेण्टहरुको पनि बजारमा मूल्य वृद्धि भएकोले यसले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ । यस्तो संवेदनशील कुरालाई नेपाल सरकारले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग उच्चस्तरीय कुटनीतिक पहलबाट सामाधान गर्न पहल गनुपर्छ ।”
रेल मार्फत ढुवानी हुदै आएको डष्टी कार्गो क्लिंकरले रक्सोलको रेलवे साईडिङमा वातावरण प्रदुषण भई मानवको स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै स्थानीयले विरोध गरेपछि भारत विहारको पटना उच्च अदालतले क्लिंकर अनलोड बन्द गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि रेलवे रक्सोल साईडिङमा क्लिंकर अनलोड हुने गरी पुस ९ गतेदेखि बुकिङ बन्द गरेको थियो । समस्या समाधानका लागि दुईदेशबीच (एलओइ) लेटर अफ एक्स्चेन्जमा हस्ताक्षर पनि नभएकोले विदेशमन्त्री स्वराजको भ्रमणमा यसलाई उच्च प्राथामिकतामा राखेर पहल गर्न उद्योगी व्यवसायीहरुले माग गरेका छन् । वीरगंजदेखि मुज्जफरपुर एकसय पाँच किलोमिटरको दूरी रहेको छ । रक्सौलबाट क्लिंकर भित्रिंदा नेपाली ढुवानी व्यवसायीलाई फाइदा हुन्थ्यो भने अहिले भारतीय गाडीबाट क्लिंकर ल्याउनुपर्दा भारतीय ढुवानीकर्तालाई फाइदा लिइरहेका छन् ।
नेपाली सिमेन्ट उद्योगका लागि रक्सौलबाटै क्लिंकर आयात फेरि खोल्ने दुई देशबीच पहल भइरहेको बताईएको छ । नेपालमा रेलबाट क्लिंकर झार्न भौतिक पूर्वाधार नबनेसम्म रक्सौलबाटै क्लिंकर ल्याउने नेपाल–भारत वाणिज्य मन्त्रालयस्तरीय पहल भएको उद्योगीले बताए पनि अहिले सम्म कुनै प्रगति नभएको कच्चा पदार्थ ढुवानी कर्ता एवं वीरगन्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले बताए ।
रक्सौलबाट क्लिकंर आयात खुला गर्ने विषयमा दुवै देशबीच उच्चस्तरीय पहल भइरहेको जानकारी पाएपनि परिणाम नदेखिएको उनको भनाई छ । भारतले सिर्सिया सुक्खा बन्दरगाहभन्दा १० किलोमिटर उत्तरमा जग्गा खोजेर डस्टी कार्गाे झार्ने यार्ड बनाउन आग्रह गरेको छ । यार्ड र रेल लिग निर्माण गर्ने प्रतिबद्धता पनि भारतीय सरकारले गरिसकेकोले नेपाल सरकारले यस विषयमा गम्भीर भएर भारतीय विदेशमन्त्रीसँग कुरा गर्न उद्योगीहरुको माग छ । रक्सौलबाट क्लिंकर बाहेक कोइला, जिप्सम, झ्लाइएस, बोरा बन्द सामान र फलाम ट्रक मैं आउने गरेको छ । स्थल ढुवानीमार्गबाट अहिले नारायणी सिमेण्ट उद्योग, नेपाल रिलायन्स, शिवम र विश्वकर्मा सिमेण्ट उद्योगहरुले क्लिंकर आयात गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्