राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता «

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक फिर्ता पठाउनुभएको जनाइएको छ ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ साउन ६ गते प्रतिनिधिसभा र साउन १२ गते राष्ट्रियसभाबाट पारित भएको थियो । संघीय संसद्बाट पारित गरिएको र प्रमाणीकरणका लागि साउन १५ गते शीतलनिवास पुगेको नागरिकतासम्बन्धी विधेयकलाई विचाराधीन अवस्थामा राखेकी राष्ट्रपति भण्डारीले आइतबार फिर्ता गरेकी हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको छ ।’
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने उनले जारी गरेकी थिइन् । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेसँगै उनको आलोचना भइरहेको छ । यसअघि संसद्को आयु छँदै संसद् विघटन गर्ने सिफारिस र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि राष्ट्रपति भण्डारीले सदर गरेकी थिइन् ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका थिए । जापानको पाँच दिने भ्रमणमा रहेकै समयमा माओवादी अध्यक्ष प्रचण्डले पत्रकारसँग कुरा गर्दै भनेका थिए, ‘नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नुहुन्न । त्यसले राम्रो हुँदैन फेरि जान्छ र हस्ताक्षर गर्नैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्