शैलुङका घरघरमा मिटर जडित खानेपानीका धारा

दोलखाको शैलुङ गाउँपालिका–३ का बोत्ले गाउँका घरघरमा खानेपानी सुविधा पुगेको छ । दोलखाको दुर्गम गाउँको रूपमा चिनिने यी गाउँमा पहिलो पटक मिटर जडित धारा जडान भएको हो ।
पानीको मुहान गाउँनजिकै भएर पनि व्यवस्थित हुन सकेको थिएन । त्यसैले यहाँका बासिन्दा खोलाबाटै पानी ल्याएर खान बाध्य थिए । घरघरमै पानीका धारा बनेर पानी झर्न थालेपछि स्थानीय पनि खुसी भएका छन् । घरघरमा पानीको धारा बनेपछि अब पानी लिन जाने समय पनि बचत भएको छ भने सरसफाइ गर्न पनि सहज हुने भएको छ ।
दुर्गम गाउँका घरघरमा पानीको धारा पुर्याउन गाउँपालिकाको अभियानमा वाटर एड र सामुदायिक विकास मञ्चले ३८ लाख ५७ हजार सहयोग गरेका छन् । उपभोक्ताले ६ लाख ५३ हजार बराबरको श्रमदान गरेका छन् । खुस्माने देवीथान खानेपानी योजनाले बोत्लेका ३३ घर र २ सामुदायिक धारामा पानी झरेको छ ।
खानेपानी योजनाका लागि गाउँपालिकाले पनि लगानी गरेको छ भने स्थानीयले पनि श्रमदान गरेका छन् । यी धारामा पानी झरेपछि अब शैलुङ गाउँपालिका–३ का ४५ घरमामात्र पानीका धारा पुग्न बाँकी रहेको वडाध्यक्ष वीरबहादुर तमाङले बताए । पाँच सयभन्दा बढी घरधुरी रहेको यो वडामा बाँकी घरमा पनि गाउँपालिकाकै स्रोतमा पानीको धारा घरघरमा पुर्याउने बताए ।
सामुदायिक विकास मञ्चका अध्यक्ष राजु थापाकाअनुसार शैलुङ गाउँपालिकाका ३ वटा वडामा मात्र यस्ता मिटर जडित धारा ६ वटा योजना पूरा भएको छ । यी बस्तीमा पानीको सुविधा पुगेपछि अरु टोलका घरघरमा पनि खानेपानी विस्तार गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

बोत्लेका गाउँमा खानेपानी योजना हस्तान्तरण कार्यक्रममा जिसस दोलखाका प्रमुख बर्जुराम घतानेले गैरसरकारी संस्थाको सहयोग पनि सरकारको विकास साझेदार भएकाले नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सजिलो हुने बताए । शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले अब आफ्नो गाउँपालिकाभित्रका हरेक घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको बताए ।
हरेक घरघरमा खानेपानीका मिटर जडान गरिएको धारा बनेपछि अब कसले कति पानी प्रयोग गर्यो थाहा पाउन सकिन्छ । यसले जथाभावी पानी खेर जान रोकिन्छ भने पानी प्रयोगवापत मासिक न्यूनतम् शुल्कको व्यवस्था गरिएको छ । विगतमा बनेका योजनाको व्यवस्थित मर्मत संभार नहुँदा अलपत्र परेपछि अहिले उपभोक्ता समितिमार्फत व्यवस्थापन गर्ने गरी मर्मत संभार कोषको समेत व्यवस्थापन भएको छ । मर्मत संभार र नियमित पानी आपूर्तिका लागि हरेक घरधुरीले पानी उपयोग गरेवापत शुल्कसमेत निर्धारण भएको छ ।
योजनासँगै सीप र प्रविधि पनि हस्तान्तरण गरेकाले अब नियमति मर्मत संभार गरेर योजना चलाउन स्थानीयले अनुरोध गरे ।