आयोजना सुरु भएको १० वर्षपछि खानेपानी «

आयोजना सुरु भएको १० वर्षपछि खानेपानी

प्रदेश नम्बर १ कै चर्चित पर्यटकीय क्षेत्रको रूपमा रहेको धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारमा लिफ्ट प्रविधिबाट आयोजना सुरु भएको १० वर्षपछि खानेपानी पुगेको छ । पम्पिङ प्रणालीमार्फत करिब दुई किलोमिटर तलबाट पानी तानी भेडेटार पुर्‍याइएको हो ।
खानेपानी आयोजना, प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी करिब तीन करोड, ४४ लाख लागतमा आयोजना पूरा भएको हो । आयोजनाको उद्घाटन प्रदेश १ सरकारका खानेपानी सिँंचाइ तथा ऊर्जामन्त्री राजकुमार राईले गरेका छन् । उद्घाटन कार्यक्रमा बोल्दै मन्त्री राईले खानेपानी जस्तो संवेदनशील कुरामा समेत राजनीति भइरहेको र कतिपय सम्पन्न भएका आयोजनासमेत सानो कुराले अड्काएर फलानो राजनीति पाटीको मन्त्री भएको बेला किन उद्घाटन गर्ने भनेर रोकिरहेको समेत टिप्पणी गरे । जसले गर्दा नागरिकहरू खानेपानी जस्तो आधारभूत कुराबाट समेत वञ्चित भइरहेको उनको भनाइ थियो । साथै खानेपानी जस्तो कुरामा मेसिन बिग्रिने प्राविधिक समस्या आउने भएकाले त्यसको संरक्षण गर्नु पनि समिति र उपभोक्ताको दायित्व रहेको उनले बताए । साँगुरीगढी गाउँपालिकाका अन्य क्षेत्रमा समेत खानेपानीको समस्या भएको बताउँदै गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले ती क्षेत्रमा खानेपानी पुर्‍याउन स्थानीय सरकारको तर्फबाट आफूहरूले पहल कदमी जारी राखेको बताए । उनले भने, “खानेपानीको समस्या हँुदा दुई रुपैयाँ प्रतिलिटरमा खानेपानी खरिद गर्नुपर्ने अवस्थाले गर्दा पर्यटकीय क्षेत्रका होटल व्यवसायीका साथै अन्य व्यवसायीलाई समस्या रहेको थियो अब त्यो समस्या अन्त हुन्छ भन्ने लागेको छ ।” दैनिक दुई हजारदेखि २५ सय पर्यटक आउने भेडेटारमा खानेपानी आएसँंगै होटल व्यवसायीसहित १ सय ६० परिवारले सहज रूपले खानेपानी पाउने गाउँपालिका अध्यक्ष राईको भनाइ छ । लिफ्टबाट तानिएको पानी एक लाख लिटर क्षमताका तीनवटा ट्यांकीमा जम्मा गरी ५० लिटरका दुई र १२ हजार लिटरका तीनवटा ट्यांकीमार्फत पानी वितरण हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्