बर्सेनि वर्षाको पिरलो «

बर्सेनि वर्षाको पिरलो

यो वर्ष मनसुन निकै लामो समयसम्म चलिरहेको छ । वर्षा नभएको दिन सायदै छैन । जलवायु परिवर्तनको असरका कारण कहिले चर्को घाम त कहिले निरन्तर वर्षाको सामना गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । निरन्तर वर्षाका कारण बाढीपहिरोको उच्च घटना बढ्दै गइरहेको छ । यतिबेला आममानिस सचेत हुनुपर्ने समय भएकोे छ । लगातार वर्षाका कारण विभिन्न सडक, राजमार्ग अवरुद्ध हुने क्रम उत्तिकै मात्रामा छन् । पहिरोले घरबारविहीन हुने अवस्था सिर्जना भएको छ । यसकारण वर्षाको सिजनमा पहिरोले भयावह अवस्था बनाउने हुँदा सचेत रहनुपर्ने हुन्छ । नदीको धार परिवर्तन तथा उच्च बहावका कारण बस्ती नै स्थानान्तरण गर्नुपर्नेसम्मको अवस्था सिर्जना भएको छ । यो समस्या यस वर्षको मात्र होइन, हरेक बर्सात आममानिस पीरैपीरमा बाँच्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।
वर्षाको समयमा मुख्य डर भनेको बाढी, पहिरो र डुवान रहेको छ । त्यसमध्ये नेपाल पहिरोको उच्च जोखिममा रहेको छ । यहाँका भूबनोट निकै कमजोर भइसकेका छन् । जलवायु परिवर्तन र त्यसको असरका कारण समयमा पानी नपर्ने, परे तापनि अतिवृष्टि हुने हुँदा पहिरोका घटना बढ्दै गइरहेको छ, जसलाई यो वर्षको वर्षाले पनि पुष्टि गर्छ । हाम्रो मुलुकमा मौसमी सिजनमा मात्र ८० प्रतिशतसम्म वर्षा हुने हुँदा हाम्रो जमिन एकदमै कमजोर बन्दै गइरहेको छ । विभिन्न समयमा जाने विनाशकारी भूकम्प, त्यस्तै स्थानीय सरकार बनेसँगै इन्जिनियरिङ अध्ययनबिना जथाभावी रूपमा गाउँगाउँमा सडक खन्दै जाँदा जमिन अत्यन्त कमजोर बन्दै गइरहेको हुन्छ । त्यस कारण पनि पहिरोको जोखिम बढ्दै गएको छ, जुन यस वर्ष घटेका घटनाबाट स्पष्ट हुन्छ । बाटोसँगै पहिरो जाँदा घरसमेत बगाएको छ । विकासले विपत्ति निम्त्याएको छ तर त्यता कसैको ध्यान जान सकेको छैन ।
बर्सातको समयमा तराईमा हुने डुवान अनि पहाडमा पहिरोसँगसँगै जाने बाढीले बर्सेनि जनधनको ठूलो क्षति पुर्‍याइरहेको हुन्छ, जसको ज्वलन्त उदाहरणका लागि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई हेर्न सकिन्छ । त्यस भेगमा २०७८ सालको बर्सातमा पहिरोसँगै बाढी आउनाले निकै ठूलो धनजनको क्षति बेहोर्नुपरेको थियो । भौतिक रूपमा क्षति भएका घरहरू अहिलेसम्म पनि उठ्न सकेका छैनन् । घटनालाई बिस्तारै बिर्सिंदै स्थानीय नियमित कार्यमा त लागेका छन् तर त्यो चोटलाई बिर्सन सकेका छैनन् । यी त एक प्रतिनिधि घटना मात्र हुन् । यस्तै प्रकृतिका घटना हरेक वर्ष भइरहेका छन् ।
हुन त पहिरोका विभिन्न प्रकार हुन्छन् । पहिरो भन्नेबित्तिकै वर्षामा मात्र जान्छ भन्नु गलत हुन सक्छ, किनकि हाम्रो मुलुकमा सुक्खा पहिरोसमेत जाने गर्छ । सुक्खा पहिरोका कारण पनि निकै क्षति बेहोर्नुपरेका घटना हामीसामु रहेका छन् । तर, सुक्खा पहिरोको तुलनामा वर्षाको समयमा जाने पहिरोले क्षतिका घटना धेरै निम्त्याउने गर्छ । यस वर्षको बर्सातमा पहिरोका घटना निकै भएका छन्, जसमा ठूलो मात्रामा धनजनको क्षतिसमेत बेहोर्नुपरेको छ । पहाडका बस्ती भनौं या नदीछेउमा बस्नेलाई बर्सातमा निकै पिरलोले सताउने गर्छ । कति बेला बाढी आउला या पहिरो जाला भन्ने डरैडरमा बाँच्नुपरेको अवस्था छ । यस्ता विषयमा सम्बन्धित निकायले ध्यान नपुर्‍याउने र विगतबाट पाठ नसिक्ने हुँदा पीडामा बाँच्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्