बधशाला सञ्चालनमा ल्याउने तयारी

प्रदेश ५ कै पहिलो आधुनिक पशु बधशाला निर्माण सम्पन्न भएको दुई वर्षमा पनि सञ्चालनमा आउन सकेको छैन । समयमै सञ्चालनमा आउन नसक्दा बधशालाको भवन जीर्ण बन्न थालेको छ । सुरक्षाको अभावमा भवनका झ्यालका अधिकांश शिशाहरू फुटाइएका छन् । बधशाला भवन झाँडीले ढाक्न थालेको छ । निर्माण सुरु भएको सात वर्षपछि निर्माण कार्य सम्पन्न भए पनि मुख्य सरोकारवाला निकाय बुटवल उपमहानगरपालिकाले चासो नदिँदा बधशाला सञ्चालनमा आउन नसकेपछि छिटो सञ्चालनमा ल्याउन उपमहानगरपालकामाथि दबाब परेको छ । सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत बुटवल–१२ रामनगरमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३ बिगाहा जग्गामा ०६५ सालमा सुरु भएको बधशाला निर्माण सम्पन्न भई ठेकेदार कम्पनीले बुटवल उपमहानगरपालिकालाई दुई वर्षअघि हस्तान्तरण गरेका थिए ।
ठेकेदारबाट हस्तान्तरण भएको दुई वर्ष बितिसक्दा पनि बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालन गर्नेतर्फ चासो नदिएको मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलले बताए । बधशाला सञ्चालनमा नआउँदा रुपन्देहीमा रहेका करिब ३ हजार मासु पसलमध्ये आधाजसो पसल अव्यवस्थित रूपमा सञ्चालनमा रहेकाले उपभोक्ताहरू अस्वस्थकर मासु उपभोग गर्न वाध्य छन् । “व्यवसायीहरू बधशाला छिटो सञ्चालन गर्न आतुर छन् तर उपमहानगरपालिकाले बेवास्ता गरेको हामीले महसुस गरेका छौं,” संघका अध्यक्ष पौडेलले भने, “उपमहानगरपालिकाले विद्युत् र पानीको व्यवस्था मात्रै गरिदिए हामी व्यवसायीले बधशाला सञ्चालनमा ल्याई थप पूर्वाधार क्रमशः बनाउन तयार छौं ।”
उपभोक्ता हित संरक्षण मञ्चका रुपन्देही अध्यक्ष नर्बु लामाले बधशाला यथाशीघ्र सञ्चालनमा ल्याई स्वच्छ मासु उपभोग गर्न पाउने उपभोक्ताको अधिकार ग्यारेन्टी गनुपर्ने बताउँछन् । बुटवल उपमहानगरपालिकाका इन्जिनियर गौतम रौनियारले विभिन्नतहका चुनावका कारण बधशाला सञ्चालनमा ल्याउन ढिलाइ भए पनि अब छिट्टै सञ्चालनमा आउने बताउँछन् ।
बधशाला छिट्टै सञ्चालनमा ल्याउन पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयबाट विज्ञ टोली ल्याई टोलीको सुझावका आधारमा १ करोड २५ लाख रुपैयाँ बजेट व्यवस्था भएको रौनियारले बताए । “बध गर्न ल्याइने खसी बोका र कुखुरालाई राख्ने होल्डिङ यार्ड निर्माण र बध गर्ने औजार/मेसिनहरू आएपछि बधशाला सञ्चालनमा आउँछ,” इन्जिनियर रौनियारले भने । सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार बधशाला सञ्चालन गर्न मासु व्यवसायीहरूसँग छलफल भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले ३९ लाख रुपैयाँ लागतमा बधशालाको मुख्य भवन ०७० असार मसान्तमा निर्माण सम्पन्न गरेको थियो भने बधशाला भित्रको भौतिक संरचना पशु सेवा विभाग पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयबाट ५० लाख र बाँकी रकम बुटवल उपमहानगरपालिकाको ५२ लाख ४२ हजार ८ सय १८ रुपैयाँमा निर्माण भएको हो ।
बुटवल उपमहानगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले करिब ३ सय मिटर सडक कालोपत्रे र बायो ग्यास प्लान्ट निर्माण गर्न पनि बाँकी रहेको बताए । बुटवलमा बधशाला नबनेकै कारण दैनिक २५ सय पशुपन्छीहरू अस्वस्थकर रूपमा बध गरिएका छन् । मासु व्यवसायी संघका अनुसार बुटवलमा दैनिक २ सयवटा खसी, २ हजार वटा कुखुरा, ४० वटा रांगा भैंसी तथा ५ वटा बंगुर र करिब ५ सय केजी बराबरको माछा बध गरिन्छ ।
टोपराज शर्मा