आदिवासी जनजातिहरूको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व «

आदिवासी जनजातिहरूको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
मंगलबार नेपाल आदिवासी जनजाति महासंघले २८ औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरूको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका हुन् । उनले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपीको संरक्षणका लागि सरकार गम्भिर रहेको बताए ।
उनले नेपालमा विभिन्न जातजाति, भाषा, धर्ममा मानिसहरू बसेतापनि सामाजिक सद्भाव र सहिष्णुता राम्रो रहेको भन्दै यसप्रकारको सहिष्णुतालाई दीर्घकालसम्म अक्षुण राख्नुपर्ने बताए । उनले भने, ‘नेपालको कुल जनसंख्याको एक तिहाई भन्दा बढी जनसंख्या आदिवासी जनजातिहरूको रहेको छ । विभिन्न सूचीकृत आदिवासी, जनजातिहरूको जीवित मातृभाषाहरू छन् । ती सबै अमूल्य भाषा, संस्कृति, लिपीको संरक्षण गर्नु राज्यको दायित्व हो । यसतर्फ सरकार गम्भिर छ । नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । विविधताभित्रको एकता नै हाम्रो मुल मन्त्र हो । यहाँ विविध जातजाति, भाषा, सम्प्रदाय, धर्म मान्ने मानिसहरू रहेता पनि एक, अर्काप्रति सामाजिक सद्भाव, सहिष्णुता अत्यन्तै राम्रो छ । यो नेपालको विशिष्ट पहिचान हो । यसलाई हामीले दीर्घकाल सम्म अक्षुण राख्नुपर्दछ ।’
प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरूको हक, हीतको संरक्षण तथा संवद्र्धनका लागि आफू सधै प्रतिबद्ध रहेको बताए । उनीहरूलाई राज्यको मुलधारमा ल्याइ कुनैपनि किसिमको अवसरबाट वञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने बताए । उनले जनजातिहरूसँग रहेका परम्परागत सीप तथा कौशल नयाँ पुस्तामा हस्तान्तरण हुनु आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘नेपालका आदिवासी जनजातिहरूको हक, हीतका संरक्षण, संवद्र्धन तथा सांस्कृतिक पहिचानको सवालमा म सदा प्रतिबद्ध रहने छु । आदिवासी जनजातिको पहिचानलाई संरक्षण गर्दै उनीहरूलाई राज्यको मूलधारमा ल्याई कुनै पनि किसिमको अवसरबाट वञ्चित हुन नदिन हामी सबैले मिलेर कार्य गर्न आवश्यक छ । राज्यका हरेक तह र तप्कामा समावेशीकरण नीतिलाई प्रभावकारी तवरले आत्मसाथ गर्दै राष्ट्रका विकास, समृद्धिका लागि उनीहरूको योगदानलाई अझ उच्च बनाउन हामी सबै प्रतिवद्ध हुनु आवश्यक छ । आदिवासी जनजातिका भाषा, संस्कार, संस्कृति तथा ज्ञान, सीप संरक्षण हुनुपर्छ भन्ने कुरामा दृढ छु । उनीहरूसँग रहेका परम्परागत सीप, कौशल नयाँ पुस्तामा हस्तान्तरण हुनु आवश्यक छ । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार छ ।’
उनले आदिवासी जनजातिको परम्परागत सीप र कौशल नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्