पैंचोलाई अन्तर्राष्ट्रिय गुणस्तर मान्यता «

पैंचोलाई अन्तर्राष्ट्रिय गुणस्तर मान्यता

पंैचो पसल प्रालिले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता पाएको छ । गुल्मीमा प्रधान कार्यालय रेहको पैंचो पसलले आगामी ३ वर्षका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता पाएको हो ।
गुणस्तर व्यवस्थापन प्रक्रिया, खाद्य सुरक्षा व्यवस्थापन, स्वास्थ्यको सन्दर्भमा विश्व स्वास्थ्य संगठन र जोखिम विश्लेषण र नियन्त्रण सम्बन्धिको लेखापरीक्षण, अनुगमन, नियमन र निगरानीबाट ४ अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त भएको पैंचो पसल प्रालिका सञ्चालक ध्रुव न्यौपानेले जानकारी दिए । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित घोषणा कार्यक्रममा न्यौपानेले उत्पादन मात्र ठूलो नभई संकलन ठूलो हुने भएकोले पैचोले उपभोक्ता र कृषकबीच समन्वयको काम गरेको समेत बताए ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले परम्परागत, निर्वाह, व्यावसायीक हुँदै समृद्ध कृषिको बाटोमा आफूहरू रहेको बताए । पैंचोले मापदण्ड पूरा गरेर अन्तर्राष्ट्रिय मान्यता पाउनुमा आम उपभोक्तालाई फाइदा पुग्ने उनले बताए । उत्पादनमा जोडिएर पैचोसँगको सहकार्यमा रहेका कृषकलाई अझै कृषिमा प्रेरित गर्नुपर्ने उनले बताएका छन् ।
उपभोक्ताको स्वास्थ्य गम्भीर रहेको भन्दै उनले एकैपटक चारवटा गुणस्तरीय मान्यता पाएकोमा खुसी व्यक्त गरे । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित घोषणा कार्यक्रमका प्रमाणपत्र रुरुक्षेत्र गाउँपालिकाले अध्यक्ष यदु ज्ञवालीले सञ्चालक ध्रुव न्यौपानलाई हस्तान्तरण गरेका थिए ।
पैंचो पसल प्रालि विगत ८ वर्षदेखि निरन्तर चलिरहेको छ । आगामी १० वर्षमा टोलटोलमा संकलन केन्द्रको रुपमा अगाडि बढाउने पैंचो पसल प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्