भारतले नेपालको चिया निर्यात रोक्नु आपत्तिजनक : खनाल

पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतले निर्वाचनको मुखमा आएर चिया निर्यातमा समस्या खडा गर्न नहुने बताएका छन् ।
भारतमा नेपाली चिया निर्यातमा रोक लगाउने विषय बाहिर आएको भन्दै त्यस्तो हुन नदिन मंगलबार खनालको नेतृत्वमा इलामका चिया उत्पादकहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ । उनले निर्वाचनको मुखमा भारतले चिया निर्यातमा समस्या खडा गर्नु भनेको छिमेकीले छिमेकीसँगको मैत्रीपूर्ण विषय नभएको बताए । उनले नेपालले भारतमा चिया निर्यात गर्दा पाएको सुविधा कटौती गर्न सरकारले दिन नहुने बताए । खनालले प्रधानमन्त्रीसँग पहिलो आग्रह नै चिया निर्यातमा पाइरहेको सुविधा कटौती नहोस् भन्ने माग रहेको बताए ।
नेता खनालले अहिले नेपालको चिया भारतमा निर्यातको जस्तो अवस्था रहेको छ त्यसमा कुनै प्रकारको बाधा आउन नहुने बताए । उनले नेपालमा उत्पादन भएको चियाको मुख्य बजार नै भारत भएकाले निर्यातमा समस्या आउन सरकारले दिन नुहने बताए । नेता खनालले भारतसँग चियामा सहुलियतपूर्ण सम्बन्ध रहेकाले नेपालबाट चिया निर्यात गर्दा कुनै कर लगाएको भन्दै चिया निर्यातमा भारतबाट नेपालले पाएको सुविधा भएको बताए ।
“भारतसँग चियामा सहुलियतपूर्ण सम्बन्ध रहेको छ । नेपालको चियाको लागि कुनै कर लगाएको छैन” उनले भने, “भारतबाट नेपालले चिया निर्यातमा पाएको सुविधा पनि हो । नेपालले भारतमा चिया निर्यात गर्दा पाएको सुविधा कटौती नहोस् प्राथमिक माग हो ।”
उनले नेपालको चिया निर्यातमा पाएको सुविधालाई कटौती गर्ने हिसावले भारतका ३१ जना संसदहरुको टिमले अध्ययन गरेर भारत सरकारलाई नेपालको चिया गुणस्तरहीन र विषादी पनि आएकाले भारतको अन्तर्राष्ट्रिय बजारमा समस्या भयो भन्दै प्रतिवेदन बुझाएको बताए । उनले भारत सरकारले चिया निर्यातमा दिएको सुविधा कटौती र रोक लगाएका नेपाली चिया उत्पादकहरु लगायत मुलुकमा समस्या हुने जिकिर गरे ।
सूर्यदय चिया एशोसिएशनका अध्यक्ष उत्तमकुमार श्रेष्ठ अहिलेसम्म जुन किसिमले नेपालको चिया सहज रुपमा भारत निर्यात भइरहेको छ त्यसरी नै सहज बनाइ राखिदिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बझाएको बताए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले भारतका राजदूतलाई बोलाएर चिया निर्यातको विषयमा कुरा गर्ने आस्वासन दिएको उनले बताए । अध्यक्ष श्रेष्ठले भारत सरकारले नेपालको चिया निर्यातमा कडाई गर्ने चरणमा रहेकाले नेपाल सरकारले भारत सरकारसँग जिटुजी सम्झौता गरेर चिया निर्यात सहज बनाउनुपर्ने बताए ।
अध्यक्ष श्रष्ठले इलाम जिल्लाको १३ हजार हेक्टर क्षेत्रमाबाट ६० लाख किलो चिया उत्पादन हुने गरेको बताए । उनले २६ हजार किसानले चिया खेती गर्ने गरेको बताए । ८० हजार मजदुरले रोजगारी पाएको उनको भनाइ छ ।