तमोर करिडोरको पाँचथर–मूलघाट खण्ड कालोपत्रे हुँदै

तमोर नदीको किनानै किनारबाट पहाड र तराई जोड्ने तमोर करिडोरअन्तर्गत पाँचथरदेखि धनकुटाको मूलघाटसम्मको सडक खण्ड कालोपत्रे हुने भएको छ । चतरा–मूलघाट–सुभाङखोला–गणेश चोक सडकअन्गर्तत गणेशचोक–मूलघाट सडक कालोपत्रे गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुबेर नेपालीलले जानकारी दिए ।
नेपालीका अनुसार १ सय १० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का खुलेको हो । एक महिनासम्ममा ठेक्का हाल्न मिल्ने गरी दुई खण्डमा कालोपत्रे गर्ने ठेक्का खुलेको उनले जानकारी दिए । करिब पाँच अर्ब ६७ करोडमा ठेक्का खुलेको हो । यो खण्डमा पर्ने आठवटा पुलमध्ये सातवटाको ठेक्का लागि सकेको छ ।
चतरादेखि गणेशचोकको १ सय ५८ किलोमिटर सडकमध्ये मुलघाटदेखि गणेश चोकसम्मको १ सय १० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो । पाँचथरको सुभाङखोलादेखि तमोर करिडोर नेपाल चीन सिमाना टिप्लतासम्म जान्छ । यो सडक उत्तर–दक्षिण जोड्ने छोटो सडक मानिन्छ ।
यसअघि नै पाँचथरको गणेश चोकबाट सुनसरीको चतरासम्मको सडक सञ्चालनमा आउन थालेको थियो । पाँचथर र धनकुटाको विभिन्न क्षेत्र जोड्ने यो सडक तमोर नदीको नजिकै भएर निर्माण गरिएको छ । पूर्वी पहाडलाई सुविधायुक्त सहर जोड्ने द्रुत सडक मार्गको रूपमा लिइएको छ । यो सडक बनेसँगै ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका बासिन्दालाई तराई झर्न सजिलो बन्दै गएको छ । पाँचथरको याङवरक गाउँपालिकाको गणेशचोकदेखि सुनसरीको चतरासम्मको १ सय ५३ किलोमिटर सडक बनेसँंगै पाँचथर, ताप्लेजुङ तेह्रथुम, धनकुटाका स्थानीय लाभान्वित हुनेछन् ।
गत आवसम्म यो आयोजना पनि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमार्फत हेरिँदै आएकोमा अब तमोर करिडोरको आफ्नै कार्यालय धरानबाट यो आयोजना हेरिने आयोजना प्रमुख नेपालीले जानकारी दिए । यो सडक ६ अर्ब १५ करोड १४ लाख रुपैयाँ लागतमा सडकको ट्रयाक निर्माणदेखि ग्राबेलसम्मको स्तरोन्नतिका लागि ठेक्का लागेको थियो ।
यो सडकले ओलाङ्चुङ्गोला जोड्ने उतर दक्षिण सडक निर्माणसँगै चिनियाँ र भारतीय बजार जोड्ने महत्पूर्ण सडक बन्ने अपेक्षा राखिएको छ । यो सडकबाट पूर्वी पहाडलाई तराई हँुदै काठमाडौसँग जोड्ने दु्रत सडक मार्गको रूपमा तमोर करिडोरको नाममा निर्माणकार्य अगाडि बढाइएको हो । सडक निर्माण भएसँंगै पाँचथर, तेह्रथुम र ताप्लेजुङबाट सहजरूपमा तराई हुँदै केन्द्रीय राजधानी काठमाडौंसम्म पुग्न सकिनेछ । करिडोरले पहाड र तराईलाई जोड्दै यहाँको जीविकोपाजर्न र आर्थिक कारोबार वृद्धि हुने अपेक्षा गरिएको छ ।