जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिन «

जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिन

प्रत्येक वर्ष आउने श्रावण शुक्ल पूर्णिमाको दिनलाई जनै पूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दूहरूको एउटा विशेष चाडका रूपमा लिइन्छ । नेपाल तथा भारतका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने गरेको पाइन्छ । नेपालको तराई क्षेत्र तथा भारतमा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।
‘क्वाँटी’ नेपाल भाषाको ‘क्वाति’ शब्दबाट व्युत्पत्ति भएको र ‘क्वा’को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप हो । क्वाँटी बनाउँदा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ र सानो केराउ गरी नौ प्रकारका गेडागुडी टुसा उम्रने गरी पानीमा चार दिनसम्म भिजाइन्छ । टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो दिन विशेषको महŒवपूर्ण स्वाद पनि हो । क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरू हट्ने जनविश्वास रहिआएको छ । नेवार समुदायमा यसलाई क्वाँटी खाने दिनका रूपमा तथा गुन्हु पुन्ही भनेर मनाइन्छ । यसबाहेक कजरी पूर्णिमा, नरियल पूर्णिमा, अवनि अवित्तम तथा जेसुकै नाम दिए पनि हामीहरूका लागि यो पर्व जनै पूर्णिमा तथा रक्षाबन्धनका नामले प्रसिद्ध छ ।
विभिन्न ठाउँ, चलन तथा धार्मिक परम्पराअनुसार यस पर्वलाई फरक–फरक ढंगले मनाए पनि ब्राह्मण तथा क्षेत्रीयहरूका लागि यो पर्व विशेष महŒवपूर्ण मानिन्छ । विशेष गरी नेवार समुदायबाट सुरु गरिएको क्वाँटी (नौ प्रकारको गेडागुडी) खाने चलन अरू समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने विश्वास गरिन्छ । नेवार समुदायमा आजको दिनलाई गुन्हु पुन्ही भनी मनाइने परम्परा छ । यस दिन बाँधिएको डोरालाई तीन महिनापछि लक्ष्मीपूजाको दिन फुकाई गाईको पुच्छरमा बाँध्ने गरिन्छ । यसो गर्नाले मरेपछि वैतरणी नाम गरेको नदी पार गर्न तिनै गाईले सहयोग गर्नेछिन् भन्ने कुराको विश्वास गरिन्छ ।
हरेक चाडबाडको आआफ्नै महŒव हुन्छ । यो जनै पूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दू परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ । बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ । रक्षाबन्धन (तीन सराभन्दा बढी भएको धागोलाई विभिन्न रंगले रङ्ग्याइएको डोरा) लाई वैदिक मन्त्रहरूले मन्त्रेर ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भन्ने मन्त्र उच्चारण गरी दाहिने हातको नाडीमा बाँधिन्छ । यसो गर्नाले आफ्नो रक्षा हुने, बल वृद्धि हुने र पुण्यप्रदायक मानिने जनविश्वास छ । अर्थात् सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जसले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैगरी म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । यसका साथै यो दिन विभिन्न मिष्ठान्न परिकारहरू बनाई खाने गरिन्छ ।
—रोजीना महर्जन

प्रतिक्रिया दिनुहोस्