Logo

घरेलुको सहयोगले व्यवसाय सञ्चालन सहज

तेह्रथुमको छथर गाउँपालिका–१ आङदिमका ईन्द्रबहादुर बिक ४० वर्षदेखि आरन पेशा गर्दै आएका छन् । उनको परिवार पाल्ने आधार भनेकै यही पेशा हो । केही वर्ष अघिसम्म व्यवसाय सञ्चालन गर्न निकै सकस थियो । व्यवसाय सञ्चालनमा चाहिने सामग्री खरिद गर्ने रकम नहुँदा दुई–तीन दिन लगाएर एउटा खुकुरी बनाउँथे उनी । कृषि औजार बनाएर बिक्रीबाट आएको रकमले नै परिवारको गर्जाे टार्दै आएका थिए । आफ्नो व्यवसाय सञ्चालनका लागि विभिन्न निकायबाट अनुदानका लागि पहल गरे पनि पाउन सकेका थिएनन् । तर घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमले प्राविधिक सहयोग गरेपछि उनलाई व्यवसाय गर्न राहत मिलेको छ ।
घरेलुको सहयोगबाट मोटर जडान, ग्लेन्डर मेसिन खरिद, फलाम काट्ने औजार लगायतका सामग्रीबाट काम गर्न सुरु गरेका छन् । उनी भन्छन्, “मेसिन नहुँदा काम गर्न दुई–तीन जना चाहिन्थ्यो तर अहिले दुई–तीन दिन लाग्ने काम एकै दिनमा गर्दै आएको छु । विगतका समयमा पाँच सय कमाउने समयमा अहिले पन्ध्र सय कमाइ हुन्छ । मैले उत्पादन गरेको सामग्री पनि गुणस्तरीय र आकर्षक हुन थालेका छन् ।”
आरन पेशाबाट बिकले मासिक ४० हजारसम्म आम्दानी गर्दै आएका छन् । उनीजस्तै ठाकुर सेनेहाङलाई पनि घरेलुुको सहयोगले आफ्नो उद्योग सञ्चालनमा टेवा पुर्‍याएको छ । घरेलु तथा सानाा उद्योग कार्यालय तेह्रथुमले बिक र सेनेहाङ जस्ता ४१ उद्योगीहरुलाई यसै आर्थिक वर्षमा मात्र अनुदान सहयोगमा प्रविधि तथा मेसिन हस्तान्तरण गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका ६ वटै पालिकामा रहेका उद्योगलाई छनोट गरी अनुदानमा उपकरण सहयोग गरिएको उद्योग कार्यालय तेह्रथुमका प्रमुख कृष्णप्रसाद पौडेलले बताए । परम्परागत रुपमा व्यवसाय गर्दै उद्योग सञ्चालन गर्दै आएका उद्योगीहरुलाई व्यवसाय सञ्चालनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ प्रविधि तथा उपकरणहरु अनुदानमा सहयोग गरिएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमले जनाएको छ ।
पौडेलका अनुसार कार्यालयले विशेषगरी तीन प्रकारको काम गर्दै आएको छ । उद्योग प्रसाशन सम्बन्धी कार्यक्रममा उद्योग दर्ता, नामसारी, नवीकरण र ठाउँसारी गर्दै आएको छ । त्यस्तै वाणिज्य प्रशासन सम्बन्धी कार्यक्रममा वाणिज्य फर्म दर्ता, नवीकरण, पुँजी वृद्धि, ठाउँसारी र नामसारी लगायतका कामहरु गर्दै आएको छ । यसैगरी सीप विकास सम्बन्धी कार्यक्रममा वार्षिक स्वीकृत कार्यक्रमहरुमा विभिन्न सीप विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्