पेट्रोलियम पदार्थको विकल्पमा सरकारको ध्यान पुगेन : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रूपमा सरकारको ध्यान नपुगेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिसकेको भए पनि नेपाली बजारमा घटाउन नलागिएकोप्रति आपत्ति जनाए । उनले नेपाल आयल निगमको सञ्चित नोक्शानी ३१ अर्ब पुगेको बताइरहेका बेलासमेत सरकारले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सोच्न नसकेको उनको भनाइ थियो । सांसद सुवालले सरकारले भारतलाई बेचेको ३ सय ६४ मेगावाट बिजुलीबाट १६ अर्ब आम्दानी भएको बताए पनि बिजुली भारतलाई बेच्नुभन्दा नेपालीलाई सस्तोमा दिन आवश्यक रहेको बताए । उनले भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने योजना सार्वजनिक भइरहेको भन्दै भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट पारे ।
उनले शासक दलहरूले भागबण्डामा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै न्यायालयलाई भ्रष्टाचारमुक्त गर्नसक्ने न्यायाधीश नियुक्ति गर्नुपर्ने बताए ।