हिमालयन बैंक तथा बीओकेले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टीबापत जमानतको पैसा फिर्ता पाउने
नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा

अन्तत: १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बीओके)ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् । लामो कानुनी लडाइँपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । “सायद १० दिनभित्रमा जमानत रकम फिर्ता हुन्छ होला,” राणाले कारोबारसँग भने ।
यो फैसलासँगै दुवै बैंकले काउन्टर ग्यारेन्टीबापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको जमानत रकम फिर्ता पाउने भएका छन् । अमेरिकी डलर ६६ लाख २५ हजार र १४ लाख ११ हजार ४५३ युरो (करिब १ अर्ब २ करोड रुपैयाँ) रकम बैंक अफ काठमाण्डूले फिर्ता पाउने बीओेकेका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए । साथै, हिमालयन बैंकले ६३ लाख डलर (करिब ८० करोड रुपैयाँ) फिर्ता पाउने राणाले बताए । मुद्दा जितेपछि अदालतमा मुद्दा लड्दा भएको खर्च र १० वर्षसम्मको क्षतिपूर्ति पनि माग गर्ने भएकोले थप रकम पनि आउने राणाको भनाइ छ । यसरी बैंक ग्यारेन्टी विवाद सम्बन्धी मुद्दाको अन्तिम फैसलासँगै दुई नेपाली बैंकले कम्तिमा १ अर्ब ८२ करोड रुपैयाँ फिर्ता पाउने भएका छन् ।
चीनको सर्वोच्च अदालतले अन्तिम फैसला नेपाली बैंकको पक्षमा गरेको जानकारी दिँदै गान्धी एन्ड एसोसिएट्सका वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितले भने, “विगत एक दशकदेखि विभिन्न अदालतमा चल्दै आएको मुद्दा अब टुंगिएको छ ।” मुद्दा जितेसँगै बैंक अफ काठमाण्डूले करिब एक अर्ब २ करोड र हिमालयन बैंकले करिब ८० करोड फिर्ता पाउने पनि उनले बताए ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर नेपाली कम्पनीले चिनियाँ ठेकेदारलाई भुक्तानी दिए पनि चाइना कन्स्ट्रक्सन बैंकले भने बैंक ग्यारेन्टीबापत नेपाली बैंकलाई भुक्तानी दिन मानेन ।
चाइना रेल्वेले सम्झौताअनुसार मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । तर, मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीबापतको रकम नेपाली बैंकबाट लिएको थियो । यसरी काउन्टर ग्यारेन्टीबापत चिनियाँ बैंक चाइना कन्सट्रक्सन बैंकले दिनुपर्ने रकम नदिएपछि दुवै नेपाली बैंक कानुनी प्रक्रियामा गएका थिए । यी दुवै बैंक चैत २०६५ मा मेलम्ची आयोजनामा काम गर्न ठेक्का पाएको चिनियाँ ठेकदारका लागि काउन्टर ग्यारेन्टी बसेका थिए ।
चाइना रेल्वे १५ ब्युरोले चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसनबाट मेलम्ची खानेपानी आयोजनाको पर्फर्मेन्स ग्यारेन्टीको काउन्टर ल्याएको थियो । तर, सुरुङमार्ग निर्माणमा ढिलाइ भएको भन्दै सरकारले २०६९ असोज ९ मा चाइना रेल्वेसँग ठेक्का तोड्यो । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैक तथा बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।
“यसअघि दुई वर्षपहिले पनि दुवै बैंकले मुद्दा जितेका थिए,” डा. पण्डितले भने, “तर त्यसबेला मुद्दा हारेको चिनियाँ बैंक माथिल्लो अदालत गयो ।” तर, अब माथिल्लो अदालतमा पनि नेपाली बैंकले मुद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने उनले बताए ।