Logo

‘तत्काल बाढीको खतरा छैन’

केही दिनदेखि निरन्तर परेको वर्षासँगै सर्वसाधनरणमा बाढी–पहिरोको त्रास बढिरहँदा जल तथा मौसम विज्ञान विभागले भने तत्काल बाढीको कुनै पनि खतरा नरहेको बताएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गरेको ३ दिने मौसम पूर्वानुमानको आकलनलाई विश्लेषण गर्दा तत्कालका लागि ठूलो बाढीको खतरा नभएको विभागको भनाइ छ ।
निरन्तर वर्षा भइराखे पनि ठूलो वर्षा नहुँदा बाढीको खतरा तत्कालका लागि टरेको विभागले बताएको छ । विभागले नदीमा पानीको बहाव बढ्ने, केही स्थानमा डुबान हुने, पहिरो जाने, सडक खण्ड अवरुद्ध हुन सक्ने सम्भावना भए पनि बाढीको खतरा नभएको भन्दै सतर्कता भने अपनाउनुपने पर्ने जनाएको छ ।
विभागका महानिर्देशक कमलराम जोशीले अझै केही दिन हल्का, मध्यमदेखि केही स्थानहरुमा भारी मात्रामा वर्षा भए पनि तत्काल बाढीको खतरा नभएको जानकारी दिएका छन् । “यो साता देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । हाम्रो ३ दिने मौसम पूर्वानुमान अनुसार ३ दिनका लागि बाढीको खासै जोखिम बढ्ने छैन,” उनले भने । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
सोमबार देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा भएको थियो । मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ । मंगलवार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्