शिवम् सिमेन्टले गर्यो बिमा बापतको रकम हस्तान्तरण

शिवम् सिमेन्टले निर्माणकर्मीको दुर्घटना बिमा अन्तर्गतको थप दुई जनालाई दश लाख रुपैयाँ बराबरको मृत्यु बिमा रकम हस्तान्तरण गरेको छ ।
निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माणकर्मीका परिवारलाई उक्त रकम बिमा कम्पनीसँग समन्वय तथा आवश्यक प्रक्रिया पूरा गरी उनीहरुको बिमा माग दाबी अनुसार हस्तान्तरण गरेको कम्पनीले बताएको छ ।
यसअघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीबाट माग दाबी भए अनुसार कम्पनीले पाँच लाख रुपैयाँ बराबरको मृत्यु बिमासहित दुर्घटना जोखिम बिमा बापतको रकम हस्तान्तरण गरेको थियो ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले देशका विभिन्न ५२ स्थानमा रहेका तीन हजारभन्दा बढी निर्माणकर्मीको पाँच लाख रुपैयाँ बराबरको जोखिम बिमासहित निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।
सोही कार्यक्रममा सहभागी निर्माणकर्मीमध्येबाट पर्न आएको दुर्घटना बिमा माग दाबी बापतको रकम बिमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीको घर–घरमा नै गएर कम्पनी प्रतिनिधिले हस्तान्तरण गरेका हुन् ।
कम्पनीले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुरलगायत जिल्लाका निर्माणकर्मीको पाँच लाख रुपैयाँ बराबरको जोखिम बिमा गराएको बताएको छ ।