पानीको बहाबसँगै विद्युत् आपूर्ति घट्यो «

पानीको बहाबसँगै विद्युत् आपूर्ति घट्यो

कर्णाली अञ्चलको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिकामा दैनिक १४ घण्टा लोडसेडिङ हुने गरेको छ । सदरमुकामस्थित उत्तर–दक्षिण बग्ने जुगाड खोलामा पानीको बहाब घटेसँगै विद्युत् उत्पादन मेसिन जीर्ण भएपछि विद्युत् आपूर्ति घटेको हो ।
साविकको चन्दननाथ गाविस केन्द्रित पाँच सय घरधुरीका लागि २०४० सालमा घुघुती जलविद्युत् आयोजना स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । तर हिजोआज घट्दै गएको विद्युत आपूर्तिले जुम्लाका व्यापारी, विद्यार्थीलगायत उद्योगीहरू मारमा परेका छन् ।
जलविद्युत् उपभोक्ता समितिका इन्चार्ज हर्कबहादुर बोहोराका अनुसार झण्डै पाँच दशक पहिले पाँच सय घरधुरीका लागि दुई सय किलोवाट क्षमताको आयोजना हो । उनले भने, “खोलामा पानीको बहाब घट्दै गएको र मेसिन पुराना भएर अहिले १३५ किलोवाटमात्र विद्युत् उत्पादन हुन्छ । जसले दैनिक विद्युत् आपूर्तिमा समस्या आएको हो ।”
पाँच सय घरधुरीका लागि उत्पादन गरिएको विद्युत् अहिले २ हजार ७ सय घरधुरीमा लाइन जडान गरिएको छ । अझै लाइन लिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । खोलामा पानीको बहाब घटेपछि पालैपालो विद्युत् सप्लाई गर्ने व्यवस्था मिलाइएको समितिका अध्यक्ष विष्णु बुढ्थापाले जानकारी दिए ।

मेसिन मर्मतमा बर्सेनि लाखौं खर्च
नयाँ विद्युत् उत्पादनभन्दा पनि पुरानै मेसिनलाई टालटुल पारेर लाखौँ रकम खर्च गरिन्छ तर भनेजस्तो बिजुली बाल्न पाइँदैन । दैनिक १४ घण्टा लोडसेडिङ हुन्छ । पुराना मेसिनको बर्सेनि मर्मतको बहानामा लाखांै खर्च हुने सुधार भने रति पनि नहुने समस्या भएको उपभोक्ताहरूको भनाइ छ ।

बिजुली नबाली महशुल तिर्छाैं
बिजुली नबालेरै महशुल तिर्ने गरेको चन्दननाथ नगरपालिका–७ का कालिबहादुर नेपालीले बताए । उनले भने, “हाम्रो पैसा त्यसै खेर गएको छ घरमा विद्युत्को लाइन जडान गरिएको छ भन्नुमात्र भएको छ भनेको बेलामा बिजुली हुँदैन वैकल्पिक ऊर्जा सोलार अर्थात् दियालोको जोहो गर्नु परेको उनले दुःखेसो गरे ।
लोडसेडिङको मारमा विद्यार्थी
एसईई परीक्षा र अन्य अतिरिक्त शिक्षा तयारीका लागि सदरमुकाम खलंगा बजारमा हजारौँ विद्यार्थी केन्द्रित भएका छन् । दैनिक १४ घण्टाको लोडसेडिङले अध्ययन गर्ने विद्यार्थी मारमा परेको तातोपानी गाउँपालिका–२ का दशरथ चनाराले बताए । उनले भने, “एसईई परीक्षा तयारीका लागि बजारमा आएको तर यहाँ बिजुली नआउने र आए पनि कमै समय आउने गर्दा अध्ययनमा समस्या भएको छ । केही सुविधाका लागि बजारमा आयो तर बजारमा न बिजुली आउँछ न त पानी नै ।”
बढ्दो लोडसेडिङले सेवा प्रवाहमा समस्या हुने गरेको चन्दनाथ नगरपालिका नायब सुब्बा लक्ष्मीचन्द्र न्यौपानेले बताए । उनले भने, “विद्युत्को भरै छैन कार्यालयको कार्य सम्पादनमा सहज होस् भनेर वैकल्पिक ऊर्जा सोलारको व्यवस्था गरेका छौं ।

सागर परियार 

प्रतिक्रिया दिनुहोस्