झण्डिडाँडामा धरहरा निर्माण

झण्डिडाँडा इलामको रोङ गाउँपालिकामा पर्दछ । यो डाँडा तराईसँग नजिकको दूरीमा पर्दछ । धेरै पर्यटक बर्खामा गर्मी छल्नकै लागि पनि यहाँ आउने गर्दछन् । हिउँदका दिनमा रमिता हेर्न र घुम्न दैनिक सयौं पर्यटक आउने गरेका छन् ।
यही डाँडामा धेरै पर्यटक आउन थालेपछि गाउँपालिकाले यस डाँडालाई थप सिंगार्न थालेको छ । रङरोगनसहित सो डाँडामा धरहरा निर्माण भएको छ । यसले यहाँको सुन्दरतामा वृद्धि गरेको पर्यटकहरू बताउँछन् । रोङ गाउँपालिकास्थित झण्डिडाँडामा गाउँपालिकाद्वारा धरहरा निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि झण्डिडाँडामा धरहरा निर्माण गरिएको हो ।
तराईबाट छोटो दूरीमा पर्ने करसोङ पदमार्गमा पर्ने झण्डिडाँडा पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । झण्डिडाँडाको आकर्षणका लागि रोङ गाउँपालिकाले १२ लाख रकम विनियोजन गरेर त्यस क्षेत्रको सुन्दरीकरण बढाउने काम गरेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार आकर्षणका लागि धरहरासहित डाँडामा जाने सिँडी निर्माण, रेस्ट हाउस, वरिपरि रङरोगन तथा रेलिङ निर्माण र फोहोर व्यवस्थापनका लागि डस्टबिन राखिएको छ । झण्डिडाँडाको चुचुरोमा आकर्षक धरहरा निर्माण गरिएको हो । सो क्षेत्रको वरिपरिसमेत व्यवस्थित गर्ने कार्य गरिएको गाउँपालिकाले जानकारी दिएको छ । डाँडाको चुचुरोमा राखिएको धरहरा १६ फिट अग्लो छ । नौ तले धरहरासहितको रङरोगनले अझ सुन्दरता थपिएको छ ।
झापाबाट नजिक पर्ने सो क्षेत्रमा पछिल्लो समय पर्यटकको संख्या वृद्धि भइरहेको स्थानीयले बताएका छन् । तराईको उत्पात गर्मी छल्नका लागि झण्डिडाँडामा पर्यटक आउने गरेका हुन् । झण्डिडाँडा सूर्योदय र सूर्य दृश्यावलोकनका लागि चर्चित बन्दै गएको छ । झण्डिडाँडामा गाउँपालिकाले पूर्वाधार निर्माणको काम गरिरहेको छ ।
विशेष गरेर झण्डिडाँडादेखि मुनि रहेको सलकपुर सुन्तला फलेकै कारण चर्चामा छ । सुन्तला खान र लैजानका लागि छिमेकी देश भारतबाट सिजनमा हजारौं पर्यटक आउने गरेका छन् । त्यस्तै सँगै रहेको पाथिभरा मन्दिर, करसोङ पदमार्ग, हरियाली अनेकौं जातजातिका वनस्पतिका कारण पनि सो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
हाँसपोखरीबाट सुरु हुने पदमार्गको बीचमा पर्ने गुगलडाँडा, झण्डिडाँडा, सलकपुर हुँदै झापाको बाहुनगाँडी जोडिने भएकाले पनि यहाँ धेरै पर्यटक आउने गरेका छन् । दुई जिल्लाका पर्यटक मात्र नभएर सो क्षेत्रमा भारतबाट समेत उत्तिकै पर्यटक आइरहेका छन् । बर्खाको सिजन भए पनि यसबेला पनि दैनिक सयौंको संख्यामा पर्यटक आउने गरेका छन् ।
पर्यटकको संख्यामा वृद्धि हुँदै गए पनि बस्नका लागि होमस्टेहरू निर्माण भइरहेका छन् । यस क्षेत्रमा दर्जननैंको संख्यामा बासबस्ने होमस्टे सञ्चालित छन् । पछिल्लो समय गाउँपालिकाले समेत यसको प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याएसँगै पर्यटकको संख्यामा वृद्धि हुँदै गएको हो । पर्यटकहरूले स्थानीयस्तरमा उत्पादन गर्ने तरकारी तथा फलफूलसमेत लैजाने भएकाले सो क्षेत्रका बासिन्दाको आयआर्जनमा समेत वृद्धि हुँदै गएको छ । धरहरासहित अझ यस स्थानलाई कृत्रिम रूपमा भौतिक संरचना निर्माण गर्न आवश्यक छ । पदमार्ग र आसपासमा पाइने प्राकृतिक सम्पदाको संरक्षण गर्दै पूर्वाधार निर्माण गर्न सके यहाँ पर्यटकको संख्या अझ वृद्धि हुने थियो ।