लक्ष्यभन्दा बढायो नेपालले बाघको संख्या «

लक्ष्यभन्दा बढायो नेपालले बाघको संख्या

नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताभन्दा बढी संख्यामा बाघ बढाएको छ । सन् २०२२ सम्ममा बाघको संख्या २५० पुर्‍याउने लक्ष्य लिएको नेपालले पछिल्लो दश वर्षमा लक्ष्यभन्दा १०५ बढी अर्थात् ३५५ पुर्‍याएको हो ।
विश्व बाघ दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको नेपालको बाघ गणनाको तथ्यांकअनुसार नेपालमा अहिले ३५५ वटा बाघ छन् । नेपालले सन् २०२२ सम्ममा २५० वटा बाघ पुर्‍याउने लक्ष्य राखेको थियो । सन् २०१० मा रुसको पिटसबर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म २५० वटा बाघ पुर्‍याउने लक्ष्य राखेको थियो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेपालले पनि भाग दिएको उक्त सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए । सन् २०१० मा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२२ सम्म त्यो संख्या २५० पुर्‍याउने नेपालको लक्ष्य थियो ।
विश्व बाघ दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले संरक्षित क्षेत्रहरुमा पर्यापर्यटन विकास गरी स्थानीय जनताको जीविकोपार्जनका क्रियाकलापमा जोड दिइने बताएका छन् । “प्रभावित क्षेत्रमा यो कार्यक्रम सञ्चालन गर्न आन्तरिक तथा बाह्य स्रोतबाट वार्षिक एक अर्ब रुपैयाँ परिचालन गरिनेछ,” उनले भने ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले बाघलाई वनमै र मान्छेलाई घरमै राख्ने रणनीतिका साथ अब संरक्षण कार्यक्रम अघि बढाउने बताए । “धेरै चुनौतीका बाबजुद हामीले बाघ संरक्षणमा सफलता हात पारेका छौं,” उनले भने, “अब बाघलाई पनि बचाउने र मान्छेको पनि क्षति न्यून गर्ने गरी कार्यक्रम र नीतिहरुको ढाँचा बनाएर हामी अघि बढ्छौं ।”
कार्यक्रमा वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले जनतालाई केन्द्रबिन्दुमा राखेर आगामी कार्यक्रम अघि बढाउने बताए । बाघ बढाउने सरकारको प्रतिबद्धतामा जनताको सहयोग गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले बाघको संख्या बढाउन उनीहरुलाई चाहिने बासस्थान र आहार पाइने क्षेत्र बढाउनुका साथै बाँकेमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना गरिएको र पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल थप भएको बताए ।
पछिल्लो ४ वर्षमा १२० बाघ थपिएको पाइएको छ । २०१८ मा नेपालमा २३५ बाघ थिए, अहिले ३५५ पुगेको छ । सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत मंसिर १९ देखि फागुन २८ सम्म बाघ गणना गरेको थियो । बाघ गणनाका लागि अत्याधुनिक प्रविधि भएको क्यामरा ट्रयापिङ विधि प्रयोग गरिएको थियो । १५० वटा क्यामेराका साथै २०० जनशक्ति र आवश्यकताअनुसार हात्ती पनि प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्