सफा महानगर कहिले ?

संघीय राजधानी सहर काठमाडौंका लागि फोहोर व्यवस्थापन सधैं चुनौतीकै विषय बनिरह्यो । यति बेला सहरका हरेक चोकचोकमा अनि घरघरमा फोहोर थुप्रिएर बसेको कहिले उठ्ने टुंगो छैन । दैनिक भान्साबाट निस्कनेलगायत फोहोरको विसर्जन गर्ने एकमात्र थलो हो— नुवाकोटको सिसडोल । यदि उक्त स्थानमा फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भयो या त्यहाँसम्म पुग्ने सडक मर्मत–सम्भार गर्ने कार्य भयो भने फोहोर व्यवस्थापन गर्न न त यो सरकार अनि महानगरसँग कुनै अर्को विकल्प नै छ । हरेक दिन उपत्यकाबाट १२ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५ सय मेट्रिक टन फोहर निस्किने गर्छ । यतिबेला सिसडोलबाहेक अर्को वैकल्पिक व्यवस्था महानगरसँग छैन । यदि भण्डारण गरिराख्ने स्थान मात्र पर्याप्त भएको भए यति बेला सडकमा फोहोर थुप्रिने थिएन ।
महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै फोहोर व्यवस्थापन निकै ठूलो समस्या बनिरहेको छ । फोहोर विसर्जन गर्ने सिसडोलमा स्थानीयको अवरोधका कारण निकै लामो समय उपत्यकाका फोहोर उठ्न सकेको थिएन । स्थानीयको मागलाई सरकार र स्थानीय प्रतिनिधिसँगको सम्झौतापश्चात् उठ्न थालेको फोहोर फेरि सडकमै थुप्रिन थालेको छ । साउन १ गतेदेखि महानगरले फोहोरका प्रकृति अर्थात् कुहिने र नकुहिने फोहोर छुट्ट्याई आग्रह गरेको साता दिन नपुग्दै बिहीबारदेखि काठमाडौंको फोहोर एक सातादेखि उठेको छैन । फोहोरका कारण सहरको सौन्दर्यता नै मासिने अवस्था पुगिसक्यो । यो महानगरवासीले कहिले स्वच्छ, सफा अनि सुन्दर महानगर देख्न पाउँछन् ?
काठमाडौंबाट सिसडोलसम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित भएको थियो । नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरे डाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम गर्नुपर्ने हुँदा एक साता फोहोर व्यवस्थापनको काम नहुने भएको काठमाडौं महानगरपालिकाले अपिल जनाएको छ । साउन ५ गते बिहीबारदेखि काठमाडौँ उपत्यकाकोे फोहर व्यवस्थापनको काम रोकिएको छ । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित भएको थियोे । महानगरको सूचनामा उक्त अवधिभर आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि अपिलसमेत गरेको थियो । तर, आम नगरवासीले त्यसको ठ्याक्कै उल्टो गरेर जथाभावी रूपमा सडकमै फोहोर फाल्दिनाले सडक नै दुर्गन्धित बनेको छ, जसका कारण आवतजावतमा समेत फोहोरले अवरोध सिर्जना गरेको छ । फोहोर नछुट्ट्याई जथाभावी नगरवासीले यसरी फालिदिनाले महानगरलाई थप चुनौती पनि थपिएको छ ।
सहरको फोहोर उठ्न छाडेपछि चोकचोकमा दुर्गन्ध फैलन थालेका छन् । मानिसहरूले जथाभावी फोहोर फाल्नाले संक्रमणजन्य रोगसमेत फैलन सक्ने जोखिम उत्तिकै बढेकोे छ । गर्मी महिना कहिले पानी त कहिलेको चर्को घामले सडकमा हिँड्नै समस्या भएको बेला जथाभावी फोहोर फाल्नाले झन् समस्या थपिरहेको छ । यसरी चोकचोकमा फोहोर थुप्रिनाले त्यहाँबाट विभिन्न संक्रमणजन्य रोगका जीवाणु फैलन सक्ने खतरा बढ्दै गइरहेको छ, जसका कारण आम नगरवासी रोगी बन्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्ता नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई यथाशक्य वैकल्पिक समाधान खोज्न महानगर ध्यान दिनुपर्ने देखिन्छ । यदि महानगरसँग फोहोर व्यवस्थापनमा वैकल्पिक व्यवस्था भएको भए सधैं समस्या आइरहने नै थिएन भने सिसडोलको बाटो कुरेर बसिरहनुपर्ने पनि थिएन ।