उद्यमी गोल्छाको चौथो स्मृति दिवस

संविधान सभाका पूर्व सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व प्रथम उपाध्यक्ष, उद्योगपति एवं समाजसेवी स्व.दिवाकर गोल्छाको जन्म २९ जुलाई १९५३ मा विराटनगरमा भएको थियो ।
उनी भन्थे, “समस्या कहिले पनि समस्या हुँदैन, समस्यासँग समाधान पनि हुन्छ तर त्यसलाई आफूले समाधान गर्न जान्नु पर्दछ ।” उनले आफ्नो व्यावसायिक कार्यको थालनी हनुमान इण्डष्ट्रिज प्रालिबाट गरेका थिए । त्यसपश्चात उनकै अगुवाइमा हुलास मेटल, हुलास स्टील, हुलास वायर, भुदेव खाद्य उद्योग, वीपी राइस मिल, हितेश दाल उद्योगको स्थापना गरिएको थियो । सोही समयमा टे«डिङ कम्पनीमार्फत व्यापारिक कारोबार बृहत रुपमा देशभर विस्तार भइसकेको थियो ।
२०४५ सालमा आएको प्रजातन्त्र पश्चात देशमा आएको आर्थिक उदारिकरणका कारण विभिन्न क्षेत्रमा उद्योग स्थापन गर्ने, रोजगारी सृजना गर्ने र देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउने सोच उनले राखेका थिए ।
उनको सोचलाई परिणाममा बदल्ने अवधारणा अनुरुप २०४८ र २०४९ सालमा विभिन्न उद्योगहरुको स्थापना गर्ने उद्देश्यका साथ विस्तृत रुपमा अध्ययन गरी स्थापनाका लागि मेसिनरी छनौट गर्न युरोप जाँदा रातभरी ट्राभल गर्ने अनि दिनभरी भेटघाट र मेसिनरीको छनौट गर्ने, रात्री विश्राम पनि लिनु भएन, खाना खाइयो खाईएन रात्री विश्राम लिईयो लिईएन पत्तो नहुने, काम मै ब्यस्त यस्तो काम जो कोहीले गर्न सक्ने थिएन । २०४९ साल पश्चात उद्योग विस्तारको रफ्तार रोकिएन ।
२०५० साल तिर उनले २ वटा उद्योगको स्थापना गरे जसमा चिनीमा देशलाई आत्मनिर्भर बनाई रोजगारीको सृजना गर्न र उखु कृषकको जिविकोपार्जनका लागि रौतहट जिल्लाको महमम्दपुरमा श्रीराम सुगर मिल्स लिमिटेड र जुट उद्योगको स्थापना गरी जुट कृषकहरुको जिविकोपार्जनमा योगदान पुर्याउँदै रोजगारी सृजना गर्न सुनसरी जिल्लाको सोनापुरमा अरिहन्त मल्टिफाईवर्स लिमिटेड स्थापना गरे ।
सो उद्योगले मात्रै प्रत्यक्षरुपमा १०औं हजारलाई रोजगारी प्रदान गरेको छ । उनी यसैताका उद्योगी व्यवसायीहरुको सर्वोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भइसकेका थिए । जसले गर्दा सरकार र निजी क्षेत्रको नीति निर्माणमा पूर्णरुपमा सहभागी भई एउटा पूलको काम गरेका थिए ।