पुन: सक्रिय बन्दै छ कोरोना «

पुन: सक्रिय बन्दै छ कोरोना

कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेको छ । केही मत्थर हुँदै गएको भाइरस पुन: सक्रिय बन्दै गइरहेको छ । कोरोनाको प्रभाव शून्यमा झार्न नपाउँदै फैलावट दर बढ्दै गइरहेको छ । आममानिसले स्वास्थ्य मापदण्ड कायम गर्नुपर्ने अवस्था कायमै छ भने संक्रमितको संख्या पनि बढ्दो क्रममा रहँदा सतर्कता अपनाउनु पनि उत्तिकै जरुरी छ । कोरोना भाइरसलाई सामान्य नठानौं, यसको प्रभाव विश्व अनि हाम्रै मुलुकको विगतको अवस्थालाई मूल्यांकन गर्दा नै छर्लङ्ग हुन्छ । हामी कस्तो र कुन अवस्थाबाट गुज्रिएर यो अवस्थासम्ममा आइपुगेका छौं, त्यो कुरालाई ख्याल राख्न जरुरी छ ।
कोरोना भाइरसको लक्षण देखा परेपछि विश्वका शक्तिशाली राष्ट्रका वैज्ञानिक, अनुसन्धानकर्ता भाइरसविरुद्धका खोप पत्ता लगाउन लागिपरिरहे । यद्यपि भाइरसलाई पूर्ण नियन्त्रण गर्न सक्ने भ्याक्सिन निर्माण गर्न हालसम्म पनि नसके तापनि प्रभावलाई कम गर्न सक्ने भ्याक्सिन विभिन्न मुलुकले निर्माण गरे । सोहीअनुरूप हाम्रो मुलुकमा पनि भ्याक्सिन भित्रियो ।
सन् २०१९ को अन्त्यतिर चीनको बुहान सहरमा पहिलो पटक कोभिड–१९ कोरोना भाइरस देखा परेको थियो । चीन जस्तो शक्तिशाली मुलुकले उक्त भाइरसलाई नियन्त्रण लिन नसक्दा संक्रमण फैलिएका सहरमा चीन सरकारले लकडाउन समेत गरेको थियो । कोरोना भाइरस नियन्त्रणबाहिर जाँदा अधिकांश मुलुकमा यसको प्रभाव पर्‍यो । अझै प्रभावलाई नियन्त्रण गर्न सकिएको छैन । हाम्रो मुलुकमा पुन: सक्रिय हुँदै गइरहेको छ । केहीको संख्यामा फेला पर्ने संक्रमित आजभोलि दैनिक पाँच सयको हाराहारीमा फेला पर्न थालेको छ । कोरोना भाइरस उत्पत्तिदेखि यो अवधिसम्ममा आइपुग्दा कोरोनाका विभिन्न प्रजाति–उपप्रजातिको सामना गरिसकेका छौं । यतिबेला ओमिक्रोनका थप प्रजातिको संक्रमण फैलिएको छ । केही सुस्त भएको कारोना झन्–झन् सक्रिय हुँदै जाँदा आममानिसमा सजगताको खाँचो छ ।
कोरोना भाइरस यसरी नै सक्रिय हुँदै जाने हो भने विगतको अवस्था नदोहोरिएला भन्न सकिँदैन । यसैका कारण आम सर्वसाधारण नागरिकलाई आर्थिक रूपमा समस्या थपिँदै जान सक्ने खतरा नबढ्ला भन्न सकिँदैन, जुन आजको अवस्थाले त्यस्तै देखाउँछ । कोरोनाकै कारण आममानिस पुन: रोजगारी, मजदुरी गुमाउन चाहँदैनन् भने उद्योगीहरू आफ्नोे उद्योग ठप्प पार्न अनि व्यवसायीले व्यवसाय बन्द गर्न चाहँदैन । त्यसैले हामी पनि कोरोना भाइरसविरुद्ध चनाखो बन्नुपर्नेछ भने स्वास्थ्य मापदण्डलाई चटक्कै नछोडी सरकारी व्यवस्थालाई सहयोग गर्दै जानुपर्ने हुन्छ ।
कोरोना महामारीको सन्त्रास फैलिएकोे पनि दुई वर्ष भइसकेको छ । बच्ने पहिलो प्राथमिकता भनेको भाइरसविरुद्धको भ्याक्सिन नै हो । पूर्ण समाधान गर्ने भ्याक्सिनको निर्माण नभए तापनि असरलाई केही कम गर्न सक्ने भ्याक्सिन प्रयोग गर्नु नै उत्तम मानिन्छ । नेपाल सरकारले पाँच वर्षमुनिको उमेर समूहबाहेक अन्य उमेर समूहका नागरिक लक्षित खोप कार्यक्रम सम्पन्न गरिसकेको छ भने जारी रहिरहेको पनि छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १२ वर्षमाथिकाले ९९.१ प्रतिशतले पहिलो मात्रा, ८७.४ प्रतिशतले दोस्रो मात्रा र ३२ प्रतिशतले अतिरिक्त खोप (बुस्टर डोज) लगाइसकेका छन् । यद्यपि खोपकै आधारमा मात्र सुरक्षित हुन नसक्ने हुँदा स्वास्थ्यका मापदण्ड अपनाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्