हिमाली क्षेत्रमा स्याटेलाइट स्टेसन थपिँदै

हिमाली क्षेत्रमा जल तथा मौसम पूर्वानुमानका स्याटेलाइट स्टेसन थपिने भएका छन् । तराई क्षेत्रमा मात्रै केन्द्रित रहेका बाढी सम्बन्धि पूर्वानुमान गर्ने स्टेसनहरु अव बिस्तारै पहाडी तथा हिमाली क्षेत्रमा पनि थप्न लागिएको हो ।
पछिल्लो समय बाढी सम्बन्धि पूर्वसूचनाका कारण धनजनको क्षति न्यून हुँदै आइरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । बाढीको प्रकृति परिवर्तन हुँदै गइरहेकाले हिमाली तथा पहाडी क्षेत्रमा पनि बाढी मापन सम्बन्धि स्टेसन आवश्यक पर्ने विभागको भनाइ छ । मानव संचालित स्टेसन र स्वचालित स्टेसनहरु जडान हुँदै आए पनि हिमाली भेगमा जनशक्तिको अभाव रहने भएकाले स्याटेलाइट स्टेसन आवश्यक पर्ने विभागले बताएको छ ।
विभागका महानिर्देशक कमलराम जोशीले अहिले रियल टाईम स्टेसनहरुले ५/५ मिनेटमा डाटा ट्रान्समिसन भईरहेको भन्दै त्यही फ्रिक्वेन्सीमा स्याटेलाइट मार्फत डाटा ट्रान्समिसन गर्ने तयारी भइरहेको बताएका छन् । “प्रति स्याटेलाइट सिस्टमको ४० लाखसम्म पर्छ । अहिले हिमाली क्षेत्रहरुमा ९ वटा स्टेसनहरु छन्, अब हामी त्यसलाई बढाएर २३ वटा गर्दैछांै,” उनले भने ।
आवश्यकता अनुसार स्टेसन राख्न नसकिएको जोशीले बताए । “भौगोलिक बिकटता, लगानीको अभाव, स्टेसन संचालनमा देखिएको चुनौतीका कारण पनि आवश्यकता अनुसारको स्टेसनहरु राख्न सकिएको छैन । हाम्रो हिमाली क्षेत्रमा कम छन् स्टेसनहरु । त्यहाँ स्टेसन संचालन गर्नका लागि कठिन छ । नेटवर्क छैन । निरन्तर बस्ने मानिस छैनन्, त्यस्तो ठाउँमा स्टेसनहरु राख्ने तर स्याटेलाइट बेसमा जाँदैछांै,” उनले थपे । विभागका अनुसार २०० वटा जल तथ्यांक स्टेसनमध्ये १२२ वटा अटोमेटिक छन् । पछिल्लो समय बाढी नआउने स्थानहरुमा पनि बाढी आउन थालेपछि सरकारले साना र जोखिमयुक्त खोलाहरुमा स्टेतन राख्ने तयारी गरेको छ ।