Logo

कर्णालीमा सवारी दुर्घटनाबाट ३ सय ९२ जनाको मृत्यु

नेपालमा हरेक वर्ष सवारी साधनहरूको आयतसँगै सवारी दुर्घटनाको सख्या वृद्धि भइरहेको विभिन्न तथ्यांकहरूले देखाउँछ । कर्णाली प्रदेशमा पनि सवारी दुर्घटनाको सख्ंया हरेक वर्ष बढ्दै गएको पाइएको छ ।
पछिल्लो तीनवटा आर्थिक वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी ०७८/०७९ मा ४ सय २ वटा र सबैभन्दा कम ०७६/०७७ मा २ सय ३६ सवारी दुर्घटना भएको देखिन्छ । यस्तै ०७७/०७८ मा २९१ वटा गरी जम्मा ९ सय २९ वटा सवारी दुर्घटना भएको कर्णाली प्रदेश ट्राफिक कार्यालयको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार आव ०७६/०७७ भन्दा ०७७/०७८ मा ५% ले र आव ०७७/०७८ भन्दा ०७८/०७९ मा १२ प्रतिशत बढी सवारी दुर्घटना भएको देखिन्छ । तीन वर्षमा सवारी दुर्घटनामा परी कर्णाली प्रदेशमा ३ सय ९२ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनाबाट ७ सय १० जना गम्भिर घाइते भएका छन भने १ हजार २ सय जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।
यस्तै, तीनवटै आवमा हेर्दा सबैभन्दा बढी मोटरसाईकल, दोस्रोमा जिप कार तेस्रोमा ट्याक्टर र ट्रक ट्यांकर, अटो, बस, माइक्रो–फोर्स, टिप्पर दुर्घटना भएको देखिन्छ ।
दुर्घटनाको कारणहरूमा सबै भन्दा बढी तीव्र गतिले सवारी चलाउनु रहेको छ भने यान्त्रिक, सडकको अवस्था र लापरवाहीको कारण पनि दुर्घटना हुने गरेको कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले बताए ।
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी दुर्घटना हुनेमा सुर्खेत जिल्ला पहिलो रहेको छ । सबैभन्दा कम दुर्घटना हुम्लामा देखिन्छ । सुर्खेतमा बढी सवारी साधन चल्ने र हुम्लामा कम सवारी साधन चल्ने भएकाले सुर्खेतमा अन्य जिल्लाभन्दा बढी सवारी दुर्घटना भएको प्रहरीको भनाइ छ । संख्यात्मक हिसाबले सल्यान दोस्रो र दैलेख तेस्रो स्थानमा छन् ।
बढ्दो सहरीकरण, सडक प्रयोगकर्ताहरूमा ट्राफिक ज्ञानको कमी, यातायात साधनहरूको अत्याधिक वृद्धिका कारण दिनानुदिन बढ्दै गइरहेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने प्रदेश ट्राफिक कार्यालय प्रमुख तिवारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्