समन्वय अधिकारीले बेवास्ता गर्दा पुल निर्माणमा समस्या «

समन्वय अधिकारीले बेवास्ता गर्दा पुल निर्माणमा समस्या

जिल्ला समन्वय समिति धनुषाका स्थानीय समन्वय अधिकारीले बेवास्ता गर्दा जिल्लाको सिनुरजोडास्थित दूधमती नदीको पुल निर्माण हुन सकेको छैन ।
स्थानीय समन्वय अधिकारी सन्तबहादुर सुनारले रकम निकासा नगर्दा पुल निर्माणको काम ठप्प भएको हो । स्थानीय समन्वय अधिकारी सुनारले माथिल्लो निकायले निकासा दिन पत्राचार गरे पनि पत्राचारको बेवास्ता गर्दै भुक्तानी नदिएकाले ठेकेदारहरूले पुल निर्माणकार्य बन्द गरेका हुन् । लक्ष्मीनिया गाउँपालिका सोहनी सिनरजोडास्थित दूधमती नदीमा ८१ लाख रुपैयाँको लागतमा निर्माणाधीन पुलको काम अहिले बन्द भएको छ । जिल्ला समन्वय समितिले असारदेखि कामको मूल्यांकन गरी भुक्तानी नदिएकाले पुल निर्माणकार्य बन्द भएको निलगिरि निर्माण सेवा जनकपुरका व्यवसायी शैलेन्द्र यादवले बताए । यादवले भने, “स्थानीय विकास अधिकारीले भन्छन् रकम आएको छैन, लेखाशाखामा ताल्चा लागेको हुन्छ, यस्तो अवस्थामा असार महिनादेखि नै कामअनुसारको भुक्तानी नपाएका कारण बाध्य भएर काम बन्द गर्नुपरेको हो ।”
कामको मूल्यांकन गरी बिलअनुसारको भुक्तानी उपलब्ध नगराएकाले सोहनी सिनुरजोडाको दूधमती नदीको पुलजस्तै चक्कर र वफै गाउँको बीचमा रहेको विमला पुल, धनुषाधामनजिकको बलुवा–चिरैया पुल, सहिद नगरनगरपालिका गोठकोयलपुरस्थित काजी–पैनीपुल, धनुषाधाम तेजनगरस्थित भुसीखोला पुललगायतका पुलको निर्माणकार्य पनि बन्द भएको छ । पुल निर्माणका काम बन्द भएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको गोठकोयलपुरका लक्ष्मण ठाकुरले बताए ।
स्थानीय विकास मन्त्रालयलगायतका विभाग र शाखाहरूले जिल्ला प्राविधिक कार्यालयलाई अख्तियारी दिन निर्देशनसहित पटकपटक पत्राचार गरे पनि स्थानीय समन्वय अधिकारी सुनारले अझै आलटाल गरिरहेका कारण यस्तो स्थिति उत्पन्न भएको प्राविधिकहरू बताउँछन् । जिल्ला प्राविधिक कार्यालयका डीई राजकिशोर साहका अनुसार काम गरेवापतको भुक्तानीका लागि निर्माण व्यवसायीहरू दिनहुँ आउने गरे पनि रकम भुक्तानी नपाएकै कारण कतिपय पुलहरूको निर्माणकार्य बन्द छ भने, कतिपय बन्द गर्ने अवस्थामा पुगिसकेका छन् । यति मात्र होइन, रातू नदीमा झोलुंगे पुलको ठेक्का लागि सके पनि अहिलेसम्म निर्माणकार्य सुरु भएको छैन । एक करोड ६० लाखमा सो झोलुंगे पुलको ठेक्का लागि सके पनि स्थानीय समन्वय अधिकारी सुनारले पेश्की उपलब्ध नगराएकै कारण निर्माणकार्य सुरु हुन नसकेको हो ।
स्थानीय समन्वय अधिकारी सुनारले अहिले जिल्ला विकास समितिको अधिकार जस्तो स्पष्ट नीति नआएको र विकास निर्माणकार्यमा समन्वयनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी मात्र भएकाले रकम निकासा गर्न नमिल्ने बताए । उनले पुलपुलेसाको कामकाज जिल्ला प्राविधिक कार्यालयको मातहतमा गएकाले जिल्ला समन्वय समिति हाल अधिकारविहीन भएकाले काम अवरुद्ध हुन पुगेको स्वीकार गरे ।
करोडांैको लागतमा निर्माण भइसकेका पुलहरूको प्राविधिक सुरक्षाका लागि बोल्डर र तारजालीको ठेक्का लाग्नसमेत सकेको छैन । आव सुरु भएको ६ महिनाभन्दा बढी समय बितिसके पनि ७० लाख बराबरको कामको ठेक्का लाग्न नसकेपछि जलाद खोला बहुअर्बा, अमारी पुल सुगानिकास र बछराजा पुलको नदीको बहाब अनियन्त्रण हुनुका साथै पुलमा पनि क्षति हुनसक्ने खतरा रहेको प्राविधिकहरूको भनाइ छ ।

किरण कर्ण

प्रतिक्रिया दिनुहोस्