Logo

पहिलो चरणमा सय श्रमिक जाँदै

इजरायलको रोजगारी पुनः सुरु

श्रम विवादका कारण ६ महिना रोकिएको इजरायलको रोजगारी पुनः सुरु भएको छ । कूटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा सय जना युवाको भिसा र उडान तालिका सार्वजनिक भएको हो ।
इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जाने प्रक्रिया सुरु भएको हो । वैदेशिक रोजगार विभागका निर्देशक श्रीचन्द्र साहले साउन ८ र ९ गते सय नेपालीको उडान हुने गरी भिसा र उडान तालिका सार्वजनिक भएको जानकारी दिए ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा कार्य गर्न छनोट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता (एसईसी) सम्पन्न भई २९७ जना कामदार भने यसअघि नै इजरायल प्रस्थान गरिसकेका छन् । साउन ८ र ९ गते थप १ सय श्रमिकको उडान हुने भएको छ । नेपालस्थित इजरायली राजदूतावासले इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध कर्मचारीहरुको श्रम विवादका कारण छनोट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली सहयोगी कामदारहरुको भिसा जारी गर्ने कार्यमा सहजीकरण गरेपछि प्रवेश खुला भएको हो । “अब जाने श्रमिकको पुनः स्वास्थ्य परीक्षण, पीसीआर र कोरोना खोप लगाउनु पर्नेछ । खोपको सम्बन्धमा भने यसअघि अतिरिक्त खोप लगाएको म्याद ६ महिना नाघेका व्यक्तिले मात्र गर्नु पर्नेछ । इजरायल जान श्रमिकले गर्नुपर्ने प्रक्रियाका लागि विभागले सूचना सार्वजनिक गरिसकेको छ ।
इजरायल पक्षले चाँडोभन्दा चाँडो छनोट भएका नेपाली श्रमिकलाई पठाउन अनुरोध गरेपछि नेपाल पक्षले गर्नुपर्ने थप प्रक्रियाको तयारी गरिहेको विभागले जनाएको छ । इजरायलको श्रम विवाद समाधान भएपछि केही दिनभित्र बाकी रहेका श्रमिकको भिसा तथा उडान हुने विभागले जनाएको छ ।
इजरायलको रोजगारी पुनः सुरु गर्न विगत लामो समयदेखि विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम मन्त्रालयका सहसचिव डा. थानेश्वर भुसाल र इजरायलस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अर्जुन घिमिरे, नेपालका लागि इजरायली राजदूत हानान गोडरले प्रयास गर्दै आएका थिए । गत वैशाखमा इजरायलको जनसंख्या तथा अध्यागनम विभाग (पिवा) का निर्देशक सिरिली, इजरायल स्वास्थ्य मन्त्रालयका निर्देशक तास्फीबीच रोकिएका नेपाली कामदारलाई प्रवेश गराउने सम्बन्धमा छलफल भएको थियो ।
पिवाले छनोट गरेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । यसरी प्रकाशित गरेका नाममध्ये ९५९ को रोजगार सम्झौता भएको र २९७ जना इजरायल प्रवेश गरिसकेको जनाइएको छ । विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात् हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइनेछ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पिसिआर सहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित बढीमा ८५ हजार रुपैयाँ लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्