Logo

प्राकृतिक विपत्तिबाट ३ महिनामा १२७ को मृत्यु

गत वैशाख १ गतेदेखि यही साउन ४ गतेसम्ममा प्राकृतिक विपत्तिका कारण १२७ जनाको मृत्यु भएको छ । ३ महिनाको अवधिमा बाढी, पहिरो, चट्याङ, हावाहुरी, सर्पले टोकेर लगायत प्राकृतिक विपत्का कारण उक्त संख्यामा मानिसको मृत्यु भएको राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।
पहिरोबाट १७, बाढीबाट ३, भारी वर्षाका कारण ५, चट्याङका कारण ५४, सर्पले टोकेर ७, आगलागीका कारण १९, वन डढेलोका कारण १, हावाहुरीका कारण ९, जनावरका कारण १२ जनाको मृत्यु भएको छ । यो अवधिमा सबैभन्दा बढी चट्याङ लागेर मानिसको मृत्यु भएको छ । यो वर्ष बाढीका कारण ३ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् भने ३१५ जना घाइते भएका छन् । यसैगरी १४ सय ६२ परिवार प्रभावित भएको तथ्यांकमा उल्लेख छ ।
हाल मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको र विषेशगरी लुम्बिनी र कर्णाली प्रदेशका ठूला नदी आसपासका बासिन्दा जोखिममा रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विपत् व्यवस्थापनविद् डा. धर्म उप्रेतीले भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । “बाढीसम्बन्धी पूूर्वसूचनाले पनि धेरैको ज्यान जोगाउँदै आएको छ । सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विपत् सम्बन्धी सूचना प्रवाह गरिराख्नुु पर्छ,” उनले थपे ।
विभागका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै स्थानहरूमा र अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र प्रदेश १का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केहि स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कुन विपत्बाट कतिको मृत्यु ?


प्रतिक्रिया दिनुहोस्