श्रमिकको बिमा रकम बढाउन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्य र डा. बद्री केसीलगायतका पदाधिकारीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरवहादुर कुँवरसँग भेटघाट गरेका छन् ।
भेटघाटका क्रममा पदाधिकारीहरुले संघसहित सरकार र सरोकारवालाको सहकार्य तथा समन्वयमा वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको विषयमा भइरहेका गतिविधि तथा हाल विद्यमान रहेका समस्याबारे ध्यानाकर्षणसमेत गराएका थिए । संघले कोभिड–१९ बेला श्रमिकहरुलाई गरेका उद्धार तथा राहत कार्यक्रमका बारेमा जानकारी गराएको थियो । त्यसैगरी वैदेशिक रोजगारमा गएका र प्राकृतिक रुपमा ज्यान गुमाउनु परेका श्रमिकको परिवारले २० लाख रुपैयाँ पाइरहेकोमा उक्त बिमाको रकमलाई कम्ति ५० लाख बनाउनको नीति ल्याउन सुझाव दिएका छन् । साथै वैदिशक रोजगारीलाई लक्षित गरेर खडा गरिएको १० अर्बको लगानी बारेमा पनि जानकारी गराएका थिए । एनआरउनएले थाइल्याण्डमा आयोजना हुन लागेको ९औं एशिया क्षेत्र भेलामा प्रमुख आतिथ्यताको लागि अनुरोध गर्दै निमन्त्रणापत्र श्रममन्त्रीलाई दिइएको छ ।
मन्त्री कुँवरले संघले वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा गरेका कार्यहरुप्रति धन्यवाद व्यक्त गरे । साथै, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रलाई सुरक्षित मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार कटिवद्ध रहेको जानकारी गराए ।
मन्त्रालय तथा संघले वैदेशिक रोजगारको क्षेत्रमा मिलेर काम गर्न सक्ने भएको उदृत गर्दै श्रममन्त्रीले संघले वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेमा पूर्ण समय दिने प्रतिबद्धता जाहेर गरे । सोही कार्यक्रममा सामाजिक सुरक्षा कोषसँग भएका कामलाई संस्थागत गर्न संघ र सामाजिक सुरक्षा कोषबीच सम्झौता पनि गर्ने निर्णय भएको छ । भेटघाटमा संघका तर्फबाट उपाध्यक्षद्वय आरके शर्मा र नरेन्द्र भाट, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्ले तथा सचिवालयका अधिकृत कुनाल मिश्रा सहभागी थिए ।