पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्यो

आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ ।साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरु ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन् ।
बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत मात्र धान रोपाईं भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । किसानहरुले यो वर्ष मलखाद नपाएको गुनासो गरिरहेका बेला आकाशे पानी नपरेपछि रोपेको केही धानपनि सुक्न थालेको छ ।
असार महिनाभर धान रोप्नेगरि वर्षात नभएपछि ब्याडमा रहेका धानको बीउदेखि जेनतेन गरी रोपेको धान पनि सुक्न थालेका छन् । धान रोपेको गह्रा पनि फाटेर चिरा पर्न थालिसकेका छन् । गत बर्ष यही समयमा झन्डै ९० प्रतिशत धान रोपाईं भएको बाँके जिल्लामा यस वर्षको असार महिनाको अन्त्यसम्ममा पनि पानी नपरेका कारण बाँकेका आठ वटै पालिकामा ४० प्रतिशत मात्र धान रोपाईं भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत दिनेशप्रसाद भट्टराई बताए । उनले असार १५ ताका परेको पानीले रोपेको धान पनि सुकेको जानकारी दिए । उनले आकाशबाट पानी नपरेका कारण खोला नालामा पनि पानी सुक्दै गएकाले धान रोपाईं गर्न समस्या भएको बताए ।
जानकी ३ बाँकेका किसान बिर्जा प्रसादजरवटले रोपेको धान पनि पानी नपरेका कारण खेतमा सुक्दै गएको बताए । उनले समयमा मलखाद पनि नपाएको गुणासो सुनाउँदै सिँचाईको कनैुपनि प्रवन्ध नभएकाले सरकारले किसानका लागि सिंचाईको सुविधा नदिएको बताए ।
आफ्नो गाउँघरमा पानीका लागि कुनै सुविधा नभएकाले पम्पिङसेटबाट नालाको पानीले सिँचाई गरी रोपेको धानपनि सुक्न थालेको र जमिन पनि फुट्न थालेको जानकी ३ बाँकेका किसान दीलिपकुमार जरवटले बताए । उनले नेताहरु भोट माग्नेबेला किसानलाई आश्वासन दिने गरेपनि जितिसकेपछि फर्केर नहेर्ने गरेको गुनासो गरे ।
पानी नपरेर सुख्खा लागेकाले धान रोपार्इं हुन नसकेको भन्दै सिंचाईको सुविधा गरिदिन जानकी ३ बाँकेका किसानहरुले आग्रह गरेका छन् । राप्ती नदी, खोलानाला र सिक्टा सिँचाईको सुविधा हुने राप्तीसोनारी, बैजनाथ, खजुरा, जानकी, डुडुवा गाउँपालिकामा २५ देखि ४० प्रतिशत धान रोपार्इं भएको छ भने नरैनापुर गाउँपालिकामा १० प्रतिशत, कोहलपुर नगरपालिका क्षेत्रमा १५ र नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा २० प्रतिशत मात्र धान रोपाईं भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।