‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को घोषणा, विजेतालाई ७५ हजार डलर

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को घोषणा भएको छ ।
फाउन्डेसनले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शोको घोषणा गरेको हो । दुवै शोका विजेताले ७५ हजार डलर पुरस्कार पाउने भएका छन् । त्यसैगरी, फस्ट रनरअपले २० हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउने बताइएको छ । विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको सहभागितामा यो शो आयोजना गरिनेछ ।
शोमा सहभागी हुने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउण्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन ्। अगष्ट महिनादेखि सुरु हुने अडिसन ३१ डिसेम्बर २०२२ सम्म खुल्ला रहनेछ । यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ । नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ । यस्तै, क्यानडा र अमेरिकामा भने १÷१ स्थानमा अडिसन गरिनेछ । फ्रेबुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिष्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेसनले जनाएको छ ।
कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार किरण केसीले अमेरिकामा बसेर नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्न खोज्नु नै ठूलो कुरा भएको बताए । उनले नेपाली भाषा, संस्कृतिको रक्षा गर्ने कुरामा सबै कलाकारहरू एकजुट भएर लाग्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार निर शाहले यो कार्यक्रम नेपाली कलाकार्यमा सुवर्ण अक्षरमा लेखिने बताए ।
उनले कलाकारहरूले नेपाल र नेपालीको स्वाभिमान, आत्मसम्मान र नेपालसँग जोडिएका सत्यलाई सधैं जीवित राख्ने काम गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले कार्यक्रम नाफा कमाउन नभइ विश्वभर छरिएका नेपालीहरूलाई एक ठाउँमा ल्याउन आयोजना गरिएको बताए । उनले नेपाली कला र संस्कृतिलाई जोगाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा कलाकार नीर शाह, भुवन केसी, निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, प्रियंका कार्कीलाई सम्मान गरिएको थियो । इन्ट्रा फाउन्डेसनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ आयोजना गरिरहेको छ ।