दर्शकसँग सम्झना बिसर्ना हेरेपछि आकाश र पूजा

नेपाली फिल्म सम्झना बिसर्ना देशभरका हलहरुमा प्रदर्शनमा आएको छ ।
फिल्म शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । चलचित्रमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको मुख्य भूमिका छ । त्यस्तै निमेश प्रधानको निर्देशन रहेको चलचित्रमा आकाश र पूजासँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय छ ।
फिल्मको कथा तथा पटकथा निर्देशक प्रधानले नै तयार पारेका हुन् । दार्जिलिङ, सिक्किम र नेपालको जीवनको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा अदुत्य प्रधान र रेबेका प्रधानको लगानी छ । फिल्म हलहरुमा प्रदर्शन भएको दोस्रो दिन शनिवार दर्शक र फ्यानहरुसँग फिल्म हेरिसकेपछि नायक श्रेष्ठले फिल्म समग्रमा राम्रो भएको प्रतिक्रिया दर्शकबट आएको बताए । उनले हलहरुमा आएर दर्शकहरुसँगै बसेर फिल्म हेर्दा धेरै खुसी लागेको बताए । त्यस्तै नायिका शर्माले फिल्म राम्रो भएको प्रतिक्रिया दर्शकहरुले दिइरहेको बताइन् । उनले आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको बताइन् ।
शिव ढकालले छायांकन गरेको फिल्मलाई तारा थापाले सम्पादन गरेका हुन् । आकाश–पूजाको जोडीको बारेमा सोध्दा दुवै फिल्म राम्रो भएको भन्दै कुरा टारे ।