Logo

पर्यटन पुनरुत्थानका लागि ५१ बुँदे कार्ययोजना

स्रोत बजारमा प्रवद्र्धनात्मक कार्यक्रम चलाउनुपर्ने सुझावसहित नेपालको पर्यटन क्षेत्र पुनरुत्थानका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न गठन भएको समितिले ५१ बुँदे कार्ययोजना पेस गरेको छ । समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो ।
कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने, तीन महिनामा गर्न सकिने, ६ महिनाभित्र गर्न सकिने, एक वर्षभित्र गर्न सकिने र निरन्तर गर्नुपर्ने कामका ५१ वटा योजना समावेश गरिएको छ । कार्ययोजना कार्यान्वयन गर्ने निकाय र कार्यान्वयनका लागि सहयोगी संस्थाबारे पनि प्रतिवेदनमा उल्लेख छ । नेपाल पर्यटन बोर्डमार्फत स्रोत बजारमा प्रवद्र्धनात्मक कार्यक्रम चलाउनुपर्ने र यसका लागि सरोकारवाला निकायसँगको समन्वय आवश्यक रहेको प्रतिवेदनमा भनिएको छ । मूलतः प्रतिवेदनमा पर्यटक आगमनलाई सहज बनाउन र स्वागतका लागि जनशक्ति परिचालनदेखि गन्तव्यमा पर्यटकमैत्री वातावरण बनाउन सुझाइएको छ । पर्यटन पुनरुत्थानका लागि नीतिगत रुपमा नै सहजीकरण गर्न प्रतिवेदनमा सुझाव दिइएको छ ।
प्रतिवेदनमा पर्वतीय पर्यटन सुधारका लागि कानुन संशोधन गर्नुपर्ने औंल्याइएको छ । साथै पर्यटकको नेपाल बसाइ सुरक्षित बनाउन संकट व्यवस्थापन एकाइ स्थापना गर्ने र यसबाट पर्यटकलाई सहजीकरण गर्नुपर्ने बताइएको छ । पर्यटक बढाउन ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान’ सञ्चालन गर्न गैरआवासीय नेपाली संघसँग सम्झौता गरेर अगाडि बढ्न पनि समितिले सरकारलाई सुझाव दिएको छ । काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण गर्ने, कोभिडपछि नेपाल सुरक्षित गन्तव्य रहेकोबारेमा स्रोत बजारमा बजारीकरण गर्ने कार्ययोजना कार्यान्वयन गर्न पनि सुझाइएको छ ।
त्यसैगरी रात्रिकालिन सम्पदा यात्राको सुरुवात गर्नुपर्ने, सगरमाथा संवाद पुनः सुरु गर्नुपर्ने, अन्तर प्रदेश हवाई सेवा विस्तार गर्नुपर्ने, प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस् एक्टिभिटी सेन्टरका रुपमा विकास गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरूले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।
कोभिड–१९ का कारण लयमा फिर्ता हुन नसकेको पर्यटन क्षेत्रको पुनरुत्थानको कार्ययोजना बनाएर कार्यान्वयनका लागि मन्त्री श्रेष्ठले १३ असारमा पदभार ग्रहण गर्दै समिति गठन गरेका थिए । मन्त्री श्रेष्ठले कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न ७ सदस्यीय समितिलाई ७ दिनको समय दिएका थिए ।
मत्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित समितिमा निजी क्षेत्रको समेत सहभागिता रहेको थियो । समितिमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डका प्रतिनिधिका साथै तीन जना विज्ञ सम्मिलित थिए । कोभिडले सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको र त्यसका लागि पर्यटन क्षेत्रको पुनरुत्थान आवश्यक भएकाले कार्ययोजनासहित कार्यान्वयनका लागि नवनियुक्त मन्त्री श्रेष्ठले समिति गठन गर्ने निर्णय गरेका थिए । पर्यटन क्षेत्रलाई लयमा फिर्ता ल्याउन यसअघि पनि विभिन्न समयमा गठन भएका समितिले दिएको प्रतिवेदन र सुझावका आधारमा कार्ययोजना पेस गर्न भनिएको थियो । समितिले सरोकारवालाहरूसँग छलफल तथा विगतमा गठन भएका विभिन्न समितिका प्रतिवेदनहरू अध्ययन गरी कार्ययोजना तयार गरेको हो । प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले कार्ययोजनाले मन्त्रालयको कामलाई दिशानिर्देश गर्ने बताए ।
महत्वपूर्ण पर्यटकीय स्थलमा राष्ट्रिय सरसफाइ अभियान चलाउने, पर्यटन डिजिटल नक्सा बनाउने लगायत विषय पनि कार्ययोजनामा उल्लेख छ । मन्त्री श्रेष्ठले कार्ययोजना अनुसार काम अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्