Logo

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँबासी

People forced to walk to their destinations as locals have halted traffic on the Dholahiti-Chapagaun road segment, in Lalitpur, on Monday, May 13, 2019. Photo: Balkrishna Thapa Chhetri/THT

ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरूपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पु¥याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ । पहिले पहिले घरसम्म नै विद्यालयको बस आउने गरेकामा प्याङगाउँ–चापागाउँ सडक ढलान भइरहँदा हाल चापागाउँ प्रहरी चौकीसम्म मात्रै बस सञ्चालन हुन्छ ।
एकातिर सानो छोरा एक्लै हिँड्न नसक्ने र अर्कातिर गह्रौँ झोलाका कारण पु¥याउन र लिन जानुपरेको थापाले बताइन् । कहिलेकाहीँ कोही चिनेको मान्छे भेटेर निजी सवारीसाधन चढे पनि अधिकांश दिन हिँडेरै जानुपरेको उनले बताइन् । उनले भनिन्, “एकातिर यस्तो घाममा हिँड्दा आफूलाई र बच्चालाई थकाइ लाग्ने र त्यही थकाइले दिनभरि काम गर्न नसक्ने ।”
लेलेका अशोक नगरकोटी ठेचोमा घर बनाउने ठाउँमा काम गर्न हिँडेरै आउने जाने गरेका छन् । सडक बन्दै गरेकाले रुटको गाडी नचलेकाले हिँडेरै आउन जान बाध्य भएको उनको गुनासो छ । महिनौंसम्म सडक अवरुद्ध हुँदा धेरैले दुःख पाइरहेकाले सडक चाँडो सम्पन्न हुनुपर्ने उनको माग छ । उनले भने, “आफूसँग गाडी नहुने दिन उमेरका त जसोजसो हिँड्छन् तर बच्चा र बुढाबूढीलाई आउन जान गाह्रो भएको छ ।”
गोदावरी नगरपालिका प्याङगाउँदेखि चापागाउँको चौकीसम्मको सडक ढलान भइरहेकाले एक महिनाभन्दा लामो समयदेखि मुख्य सडक बन्द छ । सडक बन्द हुँदा लगनखेलबाट आउने रुटका सवारीसाधन वडा नम्बर १० सम्म जान सकेका छैनन् । नगरपालिकाको १० र ११ वडाका स्थानीयबासी कष्टकर यात्रा गर्न बाध्य छन् । मुख्य सडक नै सञ्चालन हुँदासमेत घण्टौंसम्म स्थानीयबासी जाममा पर्ने गरेकामा अहिले वैकल्पिक सडकमा जामका कारण चक्रपथ निस्कन घण्टौं लाग्ने गरेको छ । सडक निर्माण गर्नैपर्ने भए पनि वैकल्पिक सडकको राम्रो व्यवस्थापन नहुँदा आवतजावत गर्न गाह्रो भएको स्थानीयबासीको गुनासो छ ।

मकवानपुरबासीसमेत प्रभावित
गोदावरी नगरपालिका मात्रै नभएर ललितपुरका तीन गाउँपालिका र मकवानपुरका दुई गाउँपालिकाका बासिन्दा चापागाउँकै सडक भएर आवतजावत गर्थे । सडक निर्माण लम्बिँदा उनीहरू कष्टकर यात्रा गर्न बाध्य छन् ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले सडकमा सवारीसाधनको व्यवस्थापन गर्न सकिन्छ भनी नगरपालिकाले सडक व्यवस्थापन गर्न सकिन्छ भनेकै कारणले ढलान गर्न थालिएको बताए । सडक रोक्न थालिएको एक महिना भइसकेको छ भने अझै दुई साता लाग्ने देखिएको छ । प्याङगाउँको माथिल्लो क्षेत्र ढलान सकिएर खुलाइसकिएको र तल्लो क्षेत्र अझै कम्तीमा १५ दिन लाग्ने उनले बताए । उनले भने, “एक हप्ता ढलान गर्न लागे पनि त्यसको सेटिङका लागि पनि समय लाग्छ ।”
सडकको चाप व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको हुने गरी सडक निर्माण सुरु गरिएको थियो । नगरपालिकाले वैकल्पिक बाटो छ रोकेर काम गर्न सकिन्छ भनेपछि नगरपालिकाको पहलमा काम सुरु गरिएको प्रमुख ओझाले बताए । नगरपालिकासँग पहिले पटकपटक छलफलपछि ढलान गरिएको हो । उनले भने, “पहिलो सडक ढलान गर्ने नभएर कालोपत्र गर्ने योजना थियो, नगरपालिकाले विकल्प छ भनेपछि सुरु भएको हो ।”
पाँच वर्ष पहिले ढोलाहिटी–लेले सडक विस्तार सुरु भएकामा प्याङगाउँ–चापागाउँ चौकीसम्मको खण्डमा मात्रै ढलान गर्न लागिएको हो । विगतमा कालोपत्र गरेको केही समयमा नै उप्केको अरुतिरको सडकमा भने पुनःकालोपत्र नै गरिने प्रमुख ओझाले बताए ।
सुनाकोठीलगायत स्थानमा मर्मतको काम बाँकी छ । वर्षाका कारण गर्न नसकिएको भए पनि सो सडकमा कालोपत्र नै गरिने उनले बताए । उनले भने, “तीन ठेक्कामध्ये एउटा मात्रै बाँकी छ, एउटा खण्डमा मर्मत भएपछि पूरा हुन्छ ।”
सो सडकमा तीन प्याकेजमा काम भइरहेकामा दुई सम्पन्न भएर हस्तान्तरण भइसकेका छन् भने एउटामा निर्माणको केही काम बाँकी छ । चापागाउँ खण्डमा गत वर्ष निर्माण सम्पन्न भएकामा अहिले नयाँ ठेक्कामार्फत ढलान गरिएको हो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सडक निर्माणका क्रममा नागरिकले दुःख पाए पनि यो सडक दीर्घकालीनरुपमा राम्रो बनाउन लागिएको बताए । वैकल्पिक सडक हिँड्दा नागरिकले दुःख पाइरहेको र आफूसँग गुनासो आइरहेको उनले बताए ।
उनले भने, “ढलानका लागि बढी पानी चाहिने भएकाले वर्षामा काम गरिएको छ ।” प्याङगाउँबाट हाल पाउली उकालोसम्म सडक ढलान सकिएर खोलिइसकिएको प्रमुख महर्जनले बताए । वर्षौंसम्म सडक बनेन भनी नागरिकले गुनासो गरिरहेकामा अब त्यसको अन्त्य हुने उनको भनाइ छ ।
मुख्य सडकमा निर्माणको काम भइरहँदा कतिपय साना र कतिपय ठूला वैकल्पिक सडकमा सवारीसाधन डाइभर्ट गरिएको नगरपालिकाले जनाएको छ । वैकल्पिक सडकका लागि मर्मत गरी सजिलो बनाउन लागिएको प्रमुख महर्जनले बताए । साङ्ग्रिलाबाट झरुवारासी निस्कने सडकमा २०० टिप ग्राभेल हालिएको छ । मूल वैकल्पिक बाटो भएकाले यसबाट ठूला गाडी जाने र साना सवारीसाधन अरु सडकबाट पनि जानसक्ने उनले बताए ।
पाउलीबाट भित्री बाटो हुँदै झरुवारासीको सन्तानेश्वर वा धापाखेलबाट नागदह भएर जान सकिने उनले बताए । वैकल्पिक सडक हुँदै हिँड्नुपर्दा केही समय नगरवासीलाई सास्ती भए पनि त्यसपछि सजिलो हुने उनको भनाइ छ ।
तत्कालका लागि उपलब्ध चौडाइमा नै सडक ढलान गरिएको भए पनि दीर्घकालीनरुपमा सडकलाई विस्तार गरिनुपर्ने प्रमुख ओझाले बताए । सडकका कारण क्षति पुग्ने घरधनीलाई क्षतिपूर्तिका लागि सरकारसँग पहल गरिएको उनले बताए । क्षतिपूर्तिका लागि यो वर्ष केही हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्