युवालाई स्वदेशमै आकर्षण गर्ने गरी सामाजिक सुरक्षा व्यवस्थित बनाउनुपर्छ : श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारका लागि ठूलो संख्यामा युवाहरू पलायन हुने क्रम बढिरहेकाले युवा पलायन रोक्नका लागि सामाजिक सुरक्षाका योजनाहरूलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले बिहिबार राजधानीमा आयोजना गरेको ‘सामाजिक संरक्षणको दिगोपनाको लागि सामाजिक सुरक्षा कोषको भूमिकां’ विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सो कुरा बताएका हुन् । मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई सबल, सक्षम बनाउने कार्यमा सरकार सक्रिय भएको दाबी गरेका छन् । उनले भने, उनले जनतालाई सहुलियत दिने गरी ऐन कानुनहरू सिर्जना गरी जनप्रेमी र जनताको हित हुने खालका योजनाहरू सार्वजनिक गर्ने योजना रहेको बताए ।
पछिल्लो समय युवा पलायन बढ्दा मुलुकको आयातमा मात्र भर पर्नुपरेको भन्दै यसले विदेशी मुद्राको सञ्चिति ह्रास आएको र राजस्वमा समेत गम्भीर असर पर्ने गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् । “युवा पलायन रोकिनुपर्दछ, युवालाई उद्यमी र स्वरोजगारमुखी कार्यमा लगाउनुपर्छ जसका लागि सामाजिक सुरक्षा कोषले आकर्षक कार्यक्रमहरू तर्जुमा गर्नुपर्छ,” उनले भने ।
उनले पत्रकार र कलाकारहरूको समेत समाजमा ठूलो योगदान रहने भए पनि उनीहरूको भविष्य अन्धकार हुने गरेकाले पत्रकार र कलाकारहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने बताए । तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले १७ हजार रोजगारदाता संस्था रहेकोमध्ये ५ हजार संस्थाले मात्र सामाजिक सुरक्षा कोषमा आबद्धता जनाएकोले सबै रोजगारदाता कम्पनीहरूलाई कोषमा आबद्ध हुन आग्रह गरे ।
सचिव अर्यालले योगदानकर्ताले जीवनको उत्तरार्धमा पेन्सन पाउँछ, दुर्घटना हुँदा उपचार पाउँछ, घर बनाउँदा सहुलियत ऋण पाउँछ, बच्चा पढाउन पैसा पाइन्छ, त्यसैले सामाजिक सुरक्षा कोष आम श्रमिकवर्गका लागि जीवनपयोगी छ भन्दै सबै श्रमिकहरूलाई कोषमा आबद्ध हुन आग्रह गरे ।
आगामी आर्थिक वर्षको सुरुवातदेखि नै थप प्रभावकारि सामाजिक सुरक्षा कार्यक्रमहरू ल्याउने सचिव अर्यालले उद्घोष गरेका छन । पछिल्लो समय ४५ लाख युवाहरू बैदेशिक रोजगारमा भएका जानकारी गराउँदै उनीहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन नेपाल सरकार र श्रम मन्त्रालय सक्रिय भएर लागेको जानकारी गराए ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो सामाजिक सुरक्षाको आवश्यकता र महत्व बढ्दै गएका कारण हालसम्म ३ लाख ५० श्रमिकहरूले कोषमा योगदान गरिरहेका र अन्य श्रमिकहरू पनि आउने क्रम जारी रहेको जानकारी दिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सुरक्षा कार्यक्रममा आम श्रमिकहरूलाई सहभागि गराउनका लागि पत्रकारहरूले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा ललिपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, सूचना विभागका महानिर्देशक गोगन हमाल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराई, बैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम विभागका महानिर्देशक उमाकान्त आचार्य, बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल लगायतले सामाजिक सुरक्षाको महत्व र आवश्यकताका विषयमा बिचार व्याक्त गरेका थिए ।