स्याङ्जाको वालिङमा ड्रागन खेती «

स्याङ्जाको वालिङमा ड्रागन खेती

स्याङ्जाको वालिङ नगरपालिका १ धरमपानीमा व्यावसायिकरुपमा ड्रागन फ्रुट खेती सुरु गरिएको छ । २ वर्षअघि कालिगण्डकी गाउँपालिकाको सहयोगमा स्थानीय कृषकले स्याङ्जामा व्यावसायिक रुपमा ड्रागन खेती सुरु गरेका थिए ।
वालिङका कृष्णप्रसाद ढुङ्गानाले गएको फागुनदेखि व्यावसायिकरुपमा ड्रागन फ्र्ट खेती सुरु गरेका हुन् । ८० रोपनी जमिन भाडामा लिएर झण्डै ४ हजार बिरुवाबाट उनले व्यावसायिक रुपमा ड्रागन खेती सुरु गरेको बताए ।
पछिल्लो समय निकै राम्रो मूल्य र बजार माग देखेर जिल्लाका कृषकहरु ड्रागन खेतीमालागेका छन् । जिल्लामा झण्डै २० हजार ड्रागनका बिरुवा रोपिएको छ । नयाँ र नौलो व्यवसायको थालनी गरेका ढुङ्गानाले युट््युबको सहायतामा व्यावसायिक ड्रागन खेती गरेको सुनाए ।
“युट््युब हेर्दै जाँदा ड्रागन खेतीका बारेमा सुन्न र बुझ्न थालेपछि हाम्रै क्षेत्रमा नयाँ र सम्भावना देखेकाले व्यावसायिकरुपमा ड्रागन खेती थालेको छु” उनले भने, “छिमेकीको बाँझो जमिन भाडामा लिएर सम्याउने काम सकिएसँगै ४ हजार बिरुवा लगाएँ ।” बिरुवाले १ वर्षदेखि १८ महिनामा उत्पादन दिने ढुङ्गानाले बताए ।
८० रोपनी जमिनमा ३० हजार ड्रागन फ्रुटका बिरुवा लगाउने उनको योजना छ । ३० हजार बिरुवाका लागि करिब १० हजार सिमेन्टका खम्बा निर्माण गरेको उनले बताए । प्रत्येक खम्बामा तीन÷चार वटा बिरुवा लगाउने तयारीमा ढुङ्गाना छन् । ड्रागन खेतीलाई सिमेन्टको खम्बा र टायर अनिवार्य चाहिन्छ ।
सिँचाइका लागि पर्याप्त पानीको आवश्यकता नपर्ने, स्थानीय हावापानी र माटो ड्रागन खेतीका लागि उपयुक्त भएकाले हालसम्मका बिरुवा राम्रो हुँदै गएको उनले बताए । ड्रागन फल सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो ।
मधेशको वीरगञ्ज, विराटनगरबाट बेर्ना तथा बीउ ल्याएको उनले बताए । “सुरुमा ल्याएर लगाएको बिरुवा राम्रो हुँदै गएकाले व्यवसाय विस्तार गर्दै जाने सोचमा छु” उनले भने, “नयाँ र नौलो फल हुनुका साथै यसको माग पनि बढि भएकाले उत्पादित वस्तुको बजारीकरणमा समस्या हुँदैन होला ।”

प्रतिक्रिया दिनुहोस्