Logo

सञ्चारमाध्यमका लागि भाषासंहिता जारी गर्न आग्रह

सञ्चारमाध्यममा प्रयोग हुने भाषाको मानकीकरणका लागि प्रेस काउन्सिल नेपाललगायत सञ्चारसँग सम्बन्धित संस्थाले भाषासंहिता ल्याउन विज्ञ एवं सञ्चारकर्मीले सुझाव दिएका छन् ।
भाषा आयोगले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा सञ्चारमाध्यमको शक्तिले भाषालाई शक्ति दिने वा शक्ति घटाउने भएकाले सञ्चारमाध्ममा भाषाको प्रयोग गर्दा एकीकृत अवधारणा निर्माण हुनुपर्नेमा जोड दिइएको हो । सञ्चारमाध्यमका लागि भाषिक सहजीकरणका लागि भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, भाषा विज्ञान विभाग, पाठ्यक्रम विकास केन्द्र र नेपाल पत्रकार महासंघबीच नीतिगत, व्यवहारगत र प्रयोगगत समन्वय हुनुपर्ने पनि उनीहरुको भनाइ थियो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका लागि पत्रकार आचारसंहिता कार्यान्वयन गरिरहेको स्थितिमा आवश्यक पर्दा विज्ञहरुको परामर्शमा भाषासंहिता जारी गर्न सकिने बताए । उनले आचारसंहिताको प्रवद्र्धन र कार्यान्वयनका क्रममा भाषाको मानकीकरणबारे पनि समावेश गर्नुपर्नेमा जोड दिए ।
आयोगका अध्यक्ष डा लवदेव अवस्थीले नेपाललगायत नेपालमा उत्पत्ति भएका भाषा क्रमशः कमजोर हुँदै गएको अवस्थामा त्यसको कारण र समाधानका उपायको खोजीका लागि सञ्चार क्षेत्रसँग आयोगले विशेष अपेक्षा राखेको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले भाषिक मानकीकरणका लागि विगतमा पनि आफूहरुले समन्वय गरेको र आगामी दिनमा पनि त्यो कार्य गरिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सञ्चारमाध्यममा भाषा प्रयोगको अवस्थाबारे पत्रकार केदार शर्मा र केदारनाथ कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए । त्रिवि, नेपाली केन्द्रीय विभागका प्रमुख प्रा डा कृष्णप्रसाद घिमिरेले भाषाका सवालमा नीतिगत, व्यवहारगत र प्रयोगगत समस्या देखिएकाले शिक्षालयमा आफूहरुले शुद्ध सिकाए पनि कतिपय अवस्थामा सञ्चारमाध्यमले त्यही भाषाबारे अशुद्ध उच्चारण गरेमा सञ्चारमाध्यमबाटै विद्यार्थी प्रभावित हुने अवस्था आउन गरेको टिप्पणी गरे ।
अर्का टिप्पणीकार प्रा डा जीवेन्द्रदेव गिरीले भाषा परिवर्तनशील भएको र यसमा क्रमिक सुधारको क्रम रहेकाले सञ्चारमाध्यमले भाषिक सरलीकरणका लागि भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा आयोगका सदस्य उषा हमाल, त्रिवि भाषा विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा डा बलराम प्रसाईं, प्राज्ञ डा हेमराज पौडेललगायतको सहभागिता रहेको थियो । हाल मुलुकमा १२३ भाषा रहेका छन् भने भाषा आयोगले थप आठ भाषाको पहिचान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्