नेप्से परिसूचक ९.७५ अंकले गिरावट

साताको पहिलो कारोबारको दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबारमा सामान्य गिरावट आएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.७५ अंक घटेर २०७६.६७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६८ अंक, फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ ।
सोमबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार कित्ता सेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । आइतबार २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको थियो ।
सोमबार नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.१० प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचकको १ प्रतिशतभन्दा कमले बढेका छन् । यता, विकास बैंक, होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त वित्तीय संस्था र ङादी ग्रुपको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी सामलिङ पावर कम्पनीको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । यता, युनियन हाइड्रोपावरको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा साढे १७ करोडको सेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको करिब १७ करोडको सेयर किनबेच भएको छ ।