Logo

प्राकृतिक प्रकोपको जोखिमबाट सचेत रहौं

केही वर्षदेखि मुलुकका विभिन्न ठाउँमा मौसममा देखिएको परिवर्तनले गर्दा मुलुकभित्र कुनै–कुनै ठाउँमा अत्यधिक मेघ गर्जनसहित पानी पर्ने, कुनै–कुनै ठाउँमा चर्को घाम लाग्ने र हिमाली तथा मध्यपहाडी भागहरूमा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपहरू निम्तिने गरेको छ । मौसमसम्बन्धी पूर्वानुमान हुन्छ, तर बेमौसमी बर्सातका कारण उच्च जोखिम भएको ठाउँको पुनस्र्थापना र मर्मत–सम्भारको ढिलाइले गर्दा धेरै ठाउँमा प्राकृतिक प्रकोपले जनधनको क्षति निम्त्याइरहेको अवस्था छ । धेरै परिवारको बिचल्ली भएको छ । यो असार, साउन, भदौ महिना भनेको मौसमी वर्षा सुरु हुने समय भएकाले मुलुकको धेरै पहाडी भागमा पहिरो जाने क्रम रोकिएको छैन, बाढीपहिरोको त्रास उस्तै छ । तराईका विभिन्न स्थानमा नदी बढेर डुबान हुने क्रमै छ । तर, बर्सेनि यस्ता घटनाक्रम भइरहँदा यसको रोकथामको उपाय र सुरक्षाको नीतिमा भने राज्य किन कमजोर हुँदै गएको छ ?
केही दिनको कारोबार अनलाइन टिभीमा प्रसारण भएको समाचारअनुसार सरकारले विकास बजेट खर्चै गर्न सकेन । संशोधित अनुमान भेट्टाउन अझै ५१ प्रतिशत बढी खर्च गर्नुपर्ने बाध्यता भन्ने समाचार सुन्दा त जब चालू आर्थिक वर्षको मसान्त सकिनै लागेको अवस्थामा विकास निर्माणमा छुट्टिएको बजेट फ्रिज हुने डरले धमाधम सरकारले छुट्टिएको बजेटको ठाउँठाउँमा छिटो–छिटो काम गरिरहेको अवस्था छ । तर, ठूला–ठूला आयोजनामा भने विकासको गति उस्तै गतिमा रहेको देखिन्छ । अहिलेको मुख्य समस्या भनेको मौसमी वर्षाको समय भएकाले ठाउँठाउँमा बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति जाने क्रम भएकाले यस्ता समस्या रहेका ठाउँमा चाहिँ तत्काल समस्याको समाधान गर्नुपर्ने देखिन्छ । नारायणगढ–मुग्लिन सडकखण्डमा बर्सेनि पहिरो जाँदा त्यहाँ सयौं संख्यामा रहेको सवारी आगमन अवरुद्ध हुन्छ । भौतिक तथा मानवीय रूपमा पनि क्षति निम्तिन्छ, तर यस्तो समस्या हुने ठाउँहरूमा तुरुन्तै पूर्वतयारी गर्नुपर्ने देखिन्छ ।
हिमाली तथा पहाडी भेगबाट बग्ने नदीको उच्च बहावले तराईका धेरै जिल्लामा बाढीले वितण्डा मच्चाएर धेरै परिवारको बिचल्ली बनाएको बर्सेनि घटना सुनिँदै आएको छ । यसको गतिलो उदाहरण गएको वर्ष मेलम्ची बजारलाई पनि लिन सकिन्छ । त्यहाँका बासिन्दाको पीडा अझै सेलाइसकेको अवस्था छैन । यस्ता प्राकृतिक विपत्तिको जोखिमबाट बच्न र राहतका लागि पुनस्र्थापना गर्न तत्काल ध्यान दिनु आवश्यक देखिन्छ । त्यतिमात्र होइन, पछिल्लो समय राजधानीभित्रै पनि बर्सातको समयमा धेरै साना तथा ठूला खहरे खोल्साहरूको पानीले पानीको निकासमा समस्या आई राजधानीको ठाउँठाउँ स्थानमा जलमग्न हुने गरेको घटनाहरू देख्दै र सुन्दै आएका छौं । यस्तो अवस्थामा सम्भाव्य जोखिमलाई न्यूनीकरण गर्नका लागि सबै नगरपालिकाले सबै ठाउँमा ¥यापिड रेस्पोन्स टिम निर्माण गरी पानी नपरेको समयमा तुरुन्त पानी जाने निकासको तत्काल समाधान गर्नु जरुरी पनि देखिन्छ ।
बर्सातको समयमा राति–राति सवारी साधनमा लामो यात्रा नगरेकै राम्रो हो भने यात्रा गर्नुपरेमा विशेष गरी पहाडी भागहरूमा सवारी साधनलाई सुरक्षित स्थानमा राखेर मात्रै पानी रोकिएपछि सवारी चलाउनुपर्छ । भूक्षय जाने जोखिम भएको राजमार्गमा अति नै संवेदनशील भएर सवारी चलाउनुपर्ने देखिन्छ भने ट्राफिक नियमको पनि पालना उत्तिकै गर्नु जरुरी पनि देखिन्छ । तत्काल प्राकृतिक विपत्ति आइहालेमा तुरुन्त जोखिम न्यूनीकरणका लागि पूर्वतयारी अवस्थामा नै रहनुपर्ने देखिन्छ । यसमा नेपाल सरकार, स्थानीय तहलगायतले साथ–सहयोग गरेर अगाडि बढ्नुपर्ने जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्