स्याङ्जाका अधिकांश पालिकाको जोड शिक्षा, स्वास्थ्य र खानेपानीमा «

स्याङ्जाका अधिकांश पालिकाको जोड शिक्षा, स्वास्थ्य र खानेपानीमा

आर्थिक वर्ष २०७९/०८० का लागि स्याङ्जाका पालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । अधिकांश पालिकाले पुरानै शैलीमा बजेट पेस गरेका छन् । भौतिक पूर्वाधार निर्माणमा अधिकांशले बढी बजेट विनियोजन गरेका छन् । उनीहरूले स्वास्थ्य, शिक्षा, खानेपानी, वन तथा वातावरण, संस्कृति तथा पर्यटन, खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, फोहोर व्यवस्थापन र नदी नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि जिल्लाका ११ पालिकाले सात अर्ब दुई करोड ५२ लाख ५३ हजार आठ सय बजेट पारित गरेका छन् । पारित बजेटमध्ये संघीय सरकारमार्फत चार अर्ब ६६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ भने स्थानीय पालिकाले दुई अर्ब ३६ करोड २८ लाख ५३ हजार ८ सय आन्तरिक सोतबाट व्यवस्थापन गर्ने लक्ष्य राखेका छन् ।
सार्वजनिक बजेटमा सबैभन्दा धेरै वालिङ नगरपालिकाले ९१ करोड ८२ लाख २० हजार बराबरको बजेट पारित गरेको छ । पारित बजेटको ४५.८ प्रतिशत चालूतर्फ र ५४.२ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ ।
पुतली बजारले ९० करोड ६४ लाख ८८ हजार बराबरको बजेट पारित गरेको छ । बजेटमध्ये ३० करोड ९७ लाख १५ हजार पुँजीगत खर्र्च र ५९ करोड ६७ लाख ७३ हजार चालूतर्फ नगर सभाले विनियोजन गरेको हो भने गल्याङ नगरपालिकाले ८२ करोड ५६ लाख ८२ हजार बराबरको बजेट घोषणासँगै पारित गरेको छ ।
जिल्लाको पहिलो बालमैत्री नगरपालिका भीरकोटले ७५ करोड ४ लाख ३० हजारको बजेट पारित गरेको छ । पारित बजेटमा चालू खर्चतर्फ ४३ करोड १७ लाख ४८ हजार र पुँजीगत खर्चतर्फ १५ करोड ८६ लाख ८२ हजार रहेको छ । चापाकोट नगरपालिकाले चालू खर्चतर्फ ४० करोड ५३ लाख ५२ हजार र पुँजीगततर्फ २० करोड ८१ लाख २६ हजार गरी ६१ करोड ३४ लाख ७८ हजार बराबरको बजेट पारित गरेको छ ।

जिल्ला ६ गाउँपालिकामध्ये कालिगण्डकीले ५६ करोड ९१ लाख ५० हजार बराबरको बजेट पारित गर्दा चालूतर्फ ३२ करोड २५ लाख ५५ हजार र पुँजीगततर्फ २४ करोड ६५ लाख ९५ हजार विनियोजन गरेको छ । आँधीखोला गाउँपालिकाले ७१ करोड १८ लाख बराबरको बजेट पारित गरेको छ । बिरुवाले ४९ करोड तीन लाख बराबरकोे अनुमानित बजेट पारित गर्दा चालू खर्चतर्फ ३१ करोड ४७ लाख ८० हजार र पुँजीगततर्फ १७ करोड ५५ लाख २० हजार रकम विनियोजन गरेको छ । अर्जुनचौपारी गाउँपालिकाले ४४ करोड १८ लाख १९ हजार बराबरको बजेट पारित गरेको छ । १४ करोड ३३ लाख ८९ हजार पुँजीगततर्फ अनुमानित गर्दा चालु खर्चतर्फ सात करोड ३९ लाख ३० हजार र सशर्त अनुदानमा १८ करोड ४५ लाख रकम विनियोजन गरेको छ ।
जिल्लाका १० पालिकाले तोकिएकै समय सीमाभित्र बजेट प्रस्तुत गरेर पारित गर्दा हरिनास गाउँपालिकाले केही दिन ढिला गरी बजेट प्रस्तुत गर्दै पारित गरेको छ । हरिनासले ४१ करोड ८७ लाख ८० हजार बराबरको बजेट पारित गरेको छ । फेदिखोलाले ३७ करोड ९० लाख ९६ हजार आठ सय बराबरको बजेट प्रस्तुत गरेसँगै पारित गरेको जनाएको छ ।
अधिकांश पालिकाले नीति तथा कार्यक्रममा सडक र पूर्वाधारमा पहिलो प्राथमिकता दिएर बजेट ल्याएका छन् । कृषि, स्वास्थ्य र शिक्षामा समेत प्राथमिकता राख्दै धेरै पालिकाले बजेट विनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्