Logo

२३ सय ४३ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन डेढ महिना बितिसक्दासमेत झापाका दुई हजार ३ सय ४३ जना उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
३० वैशाखमा सम्पन्न निर्वाचनको मतपरिणाम घोषणा भएको एक महिनाभित्रमा निर्वाचन खर्च बुझाउनुपर्ने भए तापनि झापाका दुई हजार ३ सय ४३ जना उम्मेदवारले अझै निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए ।
झापा जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी दुई हजार ८ सय ६३ जनाले उम्मेदवारी दर्ता गरेकोमा हालसम्म ५ सय २० जनाले मात्र खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएको उनले बताए । तोकिएको समयभित्र ठूला दलले बुझाए पनि निर्वाचनमा पराजित हुने र स्वतन्त्रबाट उम्मेदवार बनेकाको विवरण आउन बाँकी रहेको उनले बताए ।

नगर प्रमुख, उपप्रमुख पदका उम्मेदवार बनेकाले चार लाख ५० हजार, वडाध्यक्षलगायतले दुई लाख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले तीन लाख ५० हजार र अन्यले एक लाख ५० हजारसम्म खर्च गर्न पाइने आयोगले व्यवस्था गरेको सूचना अधिकारी न्यौपानेले बताए ।
निर्वाचन आयोगले तोकेको समयमा निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी कारबाही गर्नसक्ने प्रावधान रहेकाले यथाशक्य चाँडो निर्वाचन खर्च विवरण बुझाउन उनले सबै उम्मेदवारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्